पूर्वाधारले चिटिक्क पर्यटकीय क्षेत्र टोड्के (फोटो कथा)

कुनैसमय पूर्वाधारको अभावमा खुल्ला आकाशमा रात विताउनुपर्ने पर्यटकीयस्थल टोड्केमा अहिले सुविधासम्पन्न लज बनेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक पूर्वाधार सहित छोटो समयका लागि घुम्न जानेलाई समेत टोड्के एउटा सुन्दर गन्तब्य बनेको हो । २०६१ सम्म टोड्कको पर्यटकीय महत्व खासै चर्चामा थिएन् । कम्यूटर शिक्षा तथा प्रथम गुराँस महोत्सवले टोड्केलाई राष्ट्रियस्तरमै पु¥यायो ।

देशभर नै पहिलोपटक गुराँसे जंगलमा महोत्सव भन्ने खवरले मेचीदेखि महाकालाीसम्मका सञ्चारमाध्यममा स्थान पाए । धार्मिक गन्तब्यको परिचय लुकेपनि एउटा पशुचौपायाको चरन क्षेत्रको रुपमा मात्रै चिनिएको टोड्केमा आसपासका हिमालको छायाँ तथा मनोरम दृष्यलाई पर्यटकीयस्थलको रुपमा रुपान्तरण गर्न स्थानीय अगुवा टेक राम्जाली, बाबुराम आचार्य लगाएतका यूवाको नेतृत्वमा सम्पन्न भएको प्रथम गुराँस महोत्सवलाई नै टोड्केको सम्भावनालाई उजागर गर्ने एउटा माध्यमको रुपमा लिइन्छ ।

त्यस्तै त्यही क्यान म्याग्दीको ब्यानरमा सम्पन्न भएको कम्यूटर मेलाको समाचारले समेत नेपालको सञ्चारमाध्यमममा निकै प्राथमिकता पाएको थियो । बेनीका राजेश शाक्य, ग्राफिस कम्यूटर सेन्टरका मोहन खत्री लगाएतले त्यो ब्यवस्थापन गरेका थिए । गुराँस महोत्सव र कम्यूटर मेला टोड्केको सम्भावनलाई उजागर गर्ने प्रमुख औजार बने । म्याग्दीको नयाँ गन्तब्यको रुपमा विकास भएसँगै टोड्केमा पर्यटकको चाप बढेपनि पूर्वाधारको अभाव सधै खड्कीयो । टोड्केमा घुम्न जाने र त्यहाँबाट मालिकाधुरी जानेलाई स्थानीयले आफ्नै घरमा राखेर प्रर्वधन गरेपनि पर्यटकलाई आवश्यक पर्ने आधारभुत आवश्यकतामा भने खासै चासो पुगेका थिएन् ।

साविकको जिविस तथा पर्यटन कार्यालयबाट विनियोजन करोडौ देखिएपनि काम लाखको पनि भएन् । पूर्वाधारको अभावैअभावका बीचमा स्थानीयको सक्रियामा अहिले आवश्यक पूर्वाधार विस्तार भएको छ । रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा रिर्सोट सहितको पूर्वाधारले पर्यटकलाई सहज भएको छ । प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपैयाँ लगानी गरेका छन् ।

रिसोर्टमा लगानी गर्नेहरुमा पूर्व झीँवासी, टोड्के, पूर्णगाउँ र डडुवाका स्थानीयवासिन्दा रहेका छन्भने अमेरिका, जापान, हङकङलगायत विदेशमा रहेकाहरुबाट शेयर लगानी गरिएको छ ।

गत वर्षको जेठ महिनादेखि रिसोर्टका लागि आवश्यक संरचना निर्माणको कार्य थालनी गरिएको थियो । खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरी बनाइएको आधुनिक सुविधासम्पन्न रिसोर्टमा एट्याच बाथरुमसहित १० ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, १० वटा टेन्ट हाउससहित करिब १ सय जनाको क्षमता रहेको छ ।समुद्री सतहदेखि झण्डै २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकलाई लोभ्याउने गर्दछ ।

बेनी नगरपालिकाको वाखेत, मंगलाको कुहुँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड बनेपछि माघ र फागुन महिनामा लालीगुराँसले राताम्मे जंगलमा रमाउन, जंगल सफारी, पिकनीक खानका लागि मानिसहरु त्यहाँ पुग्ने गरेका छन् । त्यस्तै प्यूठान जिल्लामा रहेको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्धारीको शाखा समेत टोड्केमा रहेको छ ।आश्रममा स्वर्गद्धारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास रहेको छ। प्राचिन कालमा विभिन्न ऋषि महर्षिहरुले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशुली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशाला लगाएतका केही संरचनाहरु निर्माण गरेपछि हिन्दु धर्मालम्बी समेत त्यहाँ पुग्ने गरेका छन् ।

प्युठान स्वर्गद्धारी आश्रमका महन्त भागवतानन्द गिरी,जन्मेको छैठौं दिनदेखि आमाको स्तनपान नगरेका हंशानन्द गिरीले तपस्या गरेको क्षेत्र भएकाले पनि स्वर्गद्धारी आश्रमलाई आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । १८ रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम मन्दिरमा स्वर्गद्धारी महाप्रभुले लगाउनुभएको खराउ (काठका चप्पल),शिवलिङ्ग,शिवजीको स्वेतशुभ्र मुर्ति,बसाहा, शालिग्राम आदि रहेका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ ।