इनर्जी ड्रिंक र जुसको आयातमा सरकारले लगायो प्रतिबन्ध

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स)को आयात पूर्ण रुपमा रोक लगाएको छ। मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।

सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको छैन। मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईकाअनुसार मन्त्रिपरिषदले जेठ १० गते गरेको निर्णयअनुसार स्वास्थ्यमा हानी पुर्‍याउने यस्ता पेय पदार्थमाथि प्रतिबन्ध लगाइएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनकाअनुसार रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने भएकाले यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइएको हो।

क्याफिनयुक्त भए नभएको भनेर नापतौल तथा गुणस्तर विभागले प्रमाणिकरण गर्ने छ। यसरी उक्त तत्व भएको पाइएमा भन्सारबाटै फिर्ता गरिने छ।