मंगलाका कृषकले खेतबारीमै हाते ट्याक्टरको मर्मत गर्ने

मंगला गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर प्रयोग र यसको मर्मत सम्बन्धी ७ दिने तालिम सुरु गरेको छ । गाउँपालिकाभित्र खेतबारी खनजोतका लागि परम्परादेखि प्रयोग गरिदै आएको गोरुलाई विस्थापित गरी कृषिलाई कृषिलाई ब्यवसायीकरण र यान्त्रिकरणमा सक्रिय कृषकलाई ट्याक्टरको मर्मत तथा प्राविधिक ज्ञान दिने गरी मंगलबारदेखि तालिम सुरू गरिएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय तथ सीप विकास केन्द्र कुस्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सञ्चालित सातदिने तालिममा २० जना कृषक सहभागी रहेको गाउँपालिकाका कृषि शाखाका जगत बानियाँले बताए । उनका अनुसार तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी गराइने छ । आधुनिक र ब्यवसायिक कृषि विकासको लागि यान्त्रीकरणको प्रयोग आवश्यकता भएकाले कृषकलाई तत्काल मर्मतका बारेमा जानकारी दिदाँ सहज हुने भएकाले तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

उनका अनुसार कृषकलाई खेतबारीमै मर्मत गर्न सकेमा थप अनुदानमा ट्याक्टर समेत वितरण गरिने बताए । तालिमको प्रशिक्षण तालिम विकास केन्द्रका प्रशिक्षक विकास श्रेष्ठले गरेका छन् । तालिममा सहभागी कृषकले तालिम सञ्चालन भएपछि खेतबारीमै मर्मत तथा प्रयोगमा देखिएको समस्याका बारेमा जानकारी लिन सहज भएको बताए । कृषकलाई खेतबारीमै लगेर प्रयोगात्मक अभ्यास गरिने छ ।