कर्णाली नदीमा जिप खस्यो, गाउँपालिकाका उपाध्यक्षसहित सबै वेपत्ता

हुम्लाको कर्णादी नदीमा जिप खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही सहित जिपमा सवार सबै यात्रु बेपत्ता भएका छन् । हुम्लाको सदरमुकास सिमिकोटबाट खार्पुनाथ गाउँपालिकाका लागि हिडेको लु १ ज ७१६६ नम्बरको बस  वडा नं ५ कैलावालुको भीरबाट ४०–५० मीटर तल कर्णाली नदीमा खस्दा जिपमा सवार सवै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मंगलबार १२ :४५ मा भएको उक्त जिप दुर्घटनामा वेपत्ताहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट निमित्त कार्यालय प्रमुख राजेन्द्र बहादुर सिंहको नेतृत्वमा हेलिकप्टर सहित उद्धारकर्मी टोली घटनास्थलतर्फ गएको पनि प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयबाट ३ घण्टाको दूरीमा रहेको उक्त दुर्घटनास्थलमा उद्धारकर्मी पुगेपनि उद्धारमा कठिनाई भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले संसारन्युजलाई जानकारी दिएका छन् ।उनले भने, ‘उद्धारकर्मीको टोली या हेलिकप्टर जो आएर पनि उद्धार सम्भव छैन, जिप कर्णाली नदीमा खसेको छ । जिपमा सवार सवैयात्रु खार्पुकै हुन् ।’

उनले गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही पनि सोहि दुर्घटनामा परेको पृष्टि भएको बताएका छन् । हमाल सदरमुकामबाट खार्पु जाँदै थिए ।उनले जिल्ला प्रहरी कार्यालय, हेलिकप्टर वा जे आएपनि उद्धार सम्भव नभएकोले केन्द्र सरकारले नै उद्धारका लागि गोताखोर पठाइदिन भन्दै अनुरोध गरेका छन् । ‘केन्द्र सरकारले नै गोताखोर पठाइदिनुपर्छ उद्धारका लागि अन्यथा सम्भवै छैन जिप कर्णाली नदीमा खसेको छ ।’