भकिम्लीलाई जातिय विभेदमुक्त वडा बनाउने प्रतिबद्धता

दलित र गैरदलित समुदाय बीचको एकता र सहकार्य बलियो बनाउनुपर्ने सोमबार बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । समाजमा कुसंस्कारको रुपमा हजारौं बर्ष अगाडी जडा गाडेर बसेको जातीय छुवाछुत र विभेदको अन्त्य गदैं नेपालमै नमुना वडा बनाउनुपर्नेमा बक्ताको जोड थियो । प्रगतिशिल दलित मञ्चले आयोजना गरेको दलित र गैरदलित बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदम पुनले भकिम्लीमा जातिय छुवाछुत नभई समृद्ध वडा बनाउन सहकार्य र सहभागीतामा केन्द्रित भएको बताए ।

उनले दलित र गैरदलित समुदाय बीचको सांस्कृतिक र सामाजिक मुल्य र मान्यतालाई एकरुपता ल्याउने कार्यक्रममा वडाले प्राथमिकता दिएको बताए । ‘जहाँ विभेद हुन्छ, त्यहाँ विकृतिले जरा गाडेर बस्छ’ पुनले भने । उनले करिव एकसयबर्ष अगाडी नै ब्राम्हणहरूले हलो जोतेर जातिय विभेदको अन्त्यका लागि समेत अभियान सुरु गरेकाले नयाँ पुस्ताले सोही अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांंग्रेसका गाउँ इकाई सभापति क्याप्टेन जसबहादुर पुनले दलित र गैरदलितको सामाजिक चालचलन मिल्दोजुल्दो हुने भएकाले जन्मदेखि मृत्युसम्मको अधिकांस संस्कार समेत उस्तै भएकाले पनि विभेद अन्त्यका लागि नयाँ पुस्तालाई जागरुक बनाउनुपर्ने बताए। प्रगतिशिल दलित मञ्चले भकिम्लीका बस्ती–बस्तीमा पुगेर छलफल सहित विभिन्न कार्यक्रम गरी गैरदलितसँग सहकार्य गर्ने अभियान सञ्चालन गरेको अगुवा रामबहादुर किसानले बताए ।उनले जिल्लामा दलितले क्रिस्चियन धर्म परिवर्तन गर्नु गरिबीभन्दा पनि जातीय विभेद नै प्रमुख कारण भएको देखिएका बताए । अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा पत्रकार हरिकृष्ण गौतमले म्याग्दीमा दलितको अवस्था तथा जातीय विभेदमा संलग्नलाई कानुनी सजाय लगाएतका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा जयन्ती माविका शिक्षक, स्थानीय अगुवा, बुद्धिजिवि, अधिकारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।