यात्रुबाहक जीप लुट्ने तीनजना पक्राउ

बेनी–जोमसोम सडकखण्डमा यात्रुवाहक जीपका यात्रुलाई लुट्न खोज्ने ३ जनाको प्रयास असफल भएको छ । रघुगंगा गाउँपालिका– १ तिप्ल्याङ्गमा पोखराबाट मुस्ताङ्गतर्फ जादै गरेको ग १ ज ५९०९ नम्बरको जिपलाई रोकेर यात्रुको सामान लुटेर् भाग्दै गरेकालाई प्रहरीले सूचनाको आधारमा पक्राउ गरेको हो ।

यात्रु र चालकलाई विभिन्न धम्की देखाउँदै लुटपाटमा संलग्न अन्नपुर्ण गाउँपालिका–७ हिस्ताङ बस्ने वर्ष १६ को समित पुन, रघुगंगा गाउँपालिका–१ टिप्ल्याङ बस्ने वर्ष १६ को यमस पुर्जा, पर्वत जिल्ला जलजला गाउँपालिका–३ पारी बस्ने वर्ष १६ का कुशल पाईजालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घरेलु हतियार देखाएर जीपलाई रोकी यात्रुको साथमा रहको नगद तथा झोलाहरू लिएर हिडेको अवस्थामा चालक देवा बहादुर गुरूङले प्रहरीलाई खवर गरेपछि तत्कालै खटिएको प्रहरीले सामान बरामद गरी यात्रुलाई दिएर तीनैजनालाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा लगेको छ । लुटपाटमा संलग्नहरुबाट प्रहरीले नगद, गरगहना सहितका सामान बरामद गरेका थियो । सडकखण्ड अन्तरगत दैनिक देशका विभिन्न जिल्लाबाट आवतजावत गर्ने यात्रुको सुरक्षाका लागि प्रहरीले गलेश्वर सहित भुरुङ तातोपानी, दाना लगाएतका क्षेत्रमा थप सर्तकता अपनाउने जनाएको छ ।

File photo: Google