म्याग्दीमा यूवती पनि लागुऔषध प्रयोगकर्ता

????????????????????????????????????

मंगला गाउँपालिका–३ बरंजाकी २२ बर्षकी सिता केसीको झोलाबाट प्रहरीले २५ थान डाईजापाम बरामत ग¥यो । करिव एक महिनादेखि प्रहरीको निगरानीमा रहेकी केसीले पोखराबाट लागुऔषध ल्याएर समुहमा विक्री गर्ने गोप्य सूचनाको आधारमा उनका साथीलाई शनिबार सदरमुकाम बेनीका विभिन्न स्थानबाट एकसाथ ठूलोमात्रामा ६ जनालाई पक्राउ गरेको छ । म्याग्दी जिल्लाको इतिहासमै पहिलोपटक दुईजना यूवती सहित प्रयोगकर्ता पक्राउ परेपछि प्रहरी नै झस्किएको छ ।

लागुपर्दाथको प्रयोगकर्ताको खोजी तथा नियमित ग्राहकलाई बिक्री गर्न खुलेआम सदरमुकाम बेनीमा झोलामै हालेर विक्री गदैं गरेको अवस्थामा बेनी नगरपालिका वडा नं ८ न्यूरोडकी रेजिना श्रेष्ठ, बेनपा–९ गलेश्वरका २१ बर्षिय राजकुमार शेरपुञ्जा, बेनपा–८ का २८ बर्षिय विजय बानियाँ, रघुगंगा गाउँपालिका–१ बेगका २१ बर्षिय निखिल फगामी र रघुगंगा गाउँपालिका–६ घरभई हाल बेनपा–७ मंगलाघाट बस्ने प्रविण छन्त्याललाई ८६ सेट डाईजापाम, फेनेरागन, नुर्फिन सहित पक्राउ गरेको छ । भरियाको रुपमा प्रयोग भएकी प्रयोगकर्ता केसी सहित अन्य प्रयोगकर्ताबाट प्राप्त सूचनाले समेत प्रहरीले म्याग्दीमा भित्रिने लागुऔषध र प्रयोगकर्ताको जालो तोड्ने प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताए ।

‘म्याग्दीका लागि यो ठूलो समुह नै हो,‘सस्तोमा खरिद गरेर ल्याउने, नाफा खाएर विक्री समेत गर्ने गरेको पाइएको छ’ देवकोटाले भने ।उनका अनुसार सानो जिल्लामा यूवतीहरू समेत कारोबारमा संलग्न हुनुलाई गम्भीर रुपमा लिएको बताउँदै केहीदिनमा ठूलै परिणाममा बरामद गर्ने गरी प्रहरी परिचालन गरिएको बताए । पक्राउ परेका ६ जनामा केही प्रयोगकर्ता मात्रै भएपनि केहीले पोखरामा रहेका लागुऔषध कारोबारीबाट सानो परिणाममा खरिद गरी विक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

जिल्लामा भित्रिने अधिकांस लागुऔषधमा डाईजापाम, लुपिजेसिक, फेगार्गन, एम्पुल, नाईट्राभेट,ट्यावलेट लगाएतका छन् । म्याग्दीमा प्रयोगकर्ताको संख्या ह्वात्तै बढेपछि पोखरामा रहेका सव–डिलरबाट मोटरसाईलक, सार्वजनिक यातायात र स्कुटीमा बेनीसम्म ल्याएर राख्ने गरिएको पक्राउ परेकाबाट प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले म्याग्दीभित्र ब्राउनसुगरको प्रयोगकर्ता समेत रहेकाले जनाएको छ । पछिल्लो आधादशक यता म्याग्दीमा लागुऔषधको प्रयोगकर्ता तिब्र गतिमा बढ्न थालेपछि प्रहरीले सुरु गरेको जनचेतना सहित पुराना प्रयोगकर्तालाई निगरानी गर्ने क्रममा केही प्रयोगकर्ता र भरियालाई लागु औषधसहित पक्राउ गरेको थियो ।

अभिभावकविहिन केसी भरिया
प्रहरीको प्रारम्भीक अनुसन्धानमा बरंजाकी केसीको बेसाहरा हुन् । आफन्त र विभिन्न ब्यक्तिसँग बसोबास गर्ने गरेकी केसीलाई पोखरामा रहेका लागुऔषधका कारोबारीले पहिलो चरणमा भरियाको रुपमा मात्रै प्रयोग गरेको बताइन्छ । भरियाको रुपमा प्रयोग भएकी केसी विस्तारै लागुऔषधको प्रयोगकर्ता भएपछि आफुँले प्रयोग गर्नेलाई सित्तैमा लिएर तथा विस्तारै सानो आकारमा विक्री गर्न थालेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

‘केसीको झोला समेत अरुले नै बोक्ने गरेका थिए,‘उनलाई म्याग्दीको एजेन्डका रुपमा प्रयोग गर्ने गरेको पाइएको छ’ प्रनाउ मरासिनीले भने । उनका अनुसार साथीहरुको लहलहैमा लागेर लागुऔषधको कुलतमा फसेकालाई लक्षित गरी बेनीमा लागुऔषध भित्रिने गरेको बताए । कुलतमा फसेका प्रायः युवाहरूलाई आर्थिक हैसियतका आधारमा भारतीय बजारमा २ सय रुपैयाँमा पाईने एकथान डाईजापालाई ५ हजारसम्म विक्री गर्ने गरेको समेत फेला परेको प्रहरीले जनाएको छ। धेरै मुल्यमा खरिद गर्ने प्रयोगकर्ता ग्रामिण क्षेत्रबाट बेनीमा बस्ने र अभिभावक विदेशमा भएका रहेका छन् ।

अभिभावकले बेनीमा पढ्न पठाएका यूवाहरू साथीको लहलहैमा कुलतमा फसेको देखिन्छ । पहिलोपटक म्याग्दीमा यूवतीलाई समेत सानो कारोबारी र प्रयोगकर्ताको रुपमा प्रहरीले नियन्त्रणमा लिएपछि लागुऔषधको हबको रुपमा म्याग्दीलाई समेत प्रयोग गर्न थालिएको हुनसक्ने प्रहरीको दावी छ। पुरुषसाथीसँग लागेर किशोर र युवती पनि कुलतमा फसेको देखिएपछि प्रहरीले लागुऔषधका प्रयोगकर्ताको म्याग्दी जोड्ने जालो भत्काउने तयारी सहित पोखरा, पर्वत, बागलुङसँगै मुस्ताङसम्मको कारोबारीको सञ्जालको खोजीमा जुटेको छ ।

बेनीलाई ट्रान्जीट प्वाईन्ट बनाउने खतरा

२०७३ साल बैशाख महिनाामा बेनीको कालिपुल बसपार्कमा लागुऔाषध सहित पोखराका मनिष अधिकारी र पर्वत आर्थरडाँडाका कृष्ण रानालाई प्रहरीले डाईजापाम इन्जेक्सन सहित विभिन्न लागुऔषधलाई बेनी हुदै मुस्ताङ लैजान खोजेको अवस्थामा पक्राउ परेको थियो ।

गतबर्ष बेनी बसपार्कमै उदयपुर कटारी नगरपालिका १० घर भई लागु औषधको ओसारपोसारमा संलग्न २४ बर्षिय आर्यन कार्की अभियुक्तबाट डाईजेपाम २४, एम्पुल २४, फेनोरागन २४,नुर्फिन २४ सहित पक्राउ परेका थिए।तत्कालिन समयमा प्रहरीले बेनीभित्र केही प्रयोगकर्ता भएपनि छिमेकी जिल्ला मुस्ताङ र पर्यटकीयस्थलमा आउने विदेशीलाई केन्द्रित गरी भित्रिने गरेको दावी गरेको अवस्थामा शनिबार पक्राउ परेका ६ जनाले समेत म्याग्दीसँगै सिमाना जोडिएको पर्वत, बागलुङ र मुस्ताङका साथै पर्यटकीयस्थलमा लैजाने गरेको बताएको प्रनाउ मरासिनीको भनाई छ ।

????????????????????????????????????

उनले उत्तरी म्याग्दीका साथै पश्चिम म्याग्दीमा समेत केही ग्राहक देखिएको बताउँदै साविकको धौलागिरी अञ्चललाई केन्द्रित गरी पोखरामा रहेका कारोबारीबाट पक्राउ परेकालाई प्रयोग गर्ने गरेकाले पनि म्याग्दीलाई प्रयोगकर्ताले ट्रान्जीट प्वाईन्टका रुपमा विकसीत गर्न खोजेको आशंका प्रहरीको छ । प्रहरीले बेनीमा बरामत भएको सबै बजार क्षेत्रमा मात्रै खपत नहुने भन्दै बेनी बाहिर पठाउने गरी ल्याइएको दावी गरेको छ ।

ग्रामिण क्षेत्रमा उत्पादन हुने गाजा, चरेश र अफिमलाई सहरबजारमा ल्याउने र पोखरा सहित देशका विभिन्न स्थानबाट ल्याइएको डाईजापाम, लुपिजेसिक, फेगार्गन, एम्पुल सहितका लागुऔषधलाई म्याग्दीका ल्याउने गरिएको छ । कुलतमा लागेका र छिटो पैसा कमाउने सोच बनाएर यस्तो धन्दामा लागेका यूवतीलाई समेत प्रहरीले पक्राउ गर्नुले बेनीलाई पर्यटकीयस्थलमा आउने विदेशी र स्थानीय प्रयोगकर्ताका लागि केन्द्रको रुपमा प्रयोग गरेको हुनसक्ने भएकाले एकमहिनाभित्र म्याग्दी जिल्लामा रहेका प्रयोगकर्ता र कारोबारीको वास्तविकता सार्वजनिक हुने बताए ।

????????????????????????????????????

प्रहरी प्रयोगकर्ता, यूवती कारोबारी
शनिबार सडकमा साथीहरूसँगै झोला बोकेर हिडिरहेकी सिता केसीका ग्राहक थिए जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा । गोप्य सूचनाका आधारमा बेनीमा लागुऔषधको कारोबारमा यूवतीसमेत संलग्न रहेको सुईको पाएको प्रहरीले केसीलाई ६ हजार मुल्य बराबरको डाईजापामको आवश्यकता रहेको बताएपछि केसीले सहजै प्रस्तावलाई स्वीकार गरेकाले तस्वीरका आधारमा पक्राउ गरिएको जनाएको छ ।केसीको तस्वीर प्रहरीलाई पहिले नै प्राप्त भएको थियो ।एक्कासी प्रहरी अगाडी परेपछि लरवराउँदै जवाफ दिएपछि तलासी गर्दा लागुऔषध बरामत भएको प्रहरीले जनाएको छ ।एकसातादेखि प्रहरीले समुह पहिचान गरी ग्राहक बनेर आफ्नो फन्दामा पार्ने प्रयास गरेको थियो ।

‘ग्राहक हाम्रै टोली थियो,‘ धेरै मुल्यको खरिद गर्ने बताएपछि सहज भयो’ प्रनाउ मरासिनीले भने । उनका अनुसार केसी सहितको टोलीले झोलामै राखेर विक्री तथा प्रयोग गर्ने गरेको जानकारी अनुसार इन्जेक्शन,, फेनार्गन, डाइजापाम ट्याब्लेट र सिरिन्ज खरिद गर्ने योजना बनाएको बताए। प्रहरीले पक्राउ परेका मध्ये केहीको ग्राहक बन्ने प्रयास गरेको बताउँदै बेनीमा भित्रिने जालो तोड्न केही समय लाग्ने भएकाले पनि अनुसन्धानका थप केही उपलब्धीलाई सार्वजनिक गरेको छैन् ।

प्रहरीले पश्चिम म्याग्दीमा रहेका प्रयोगकर्ता नै कारोबारी समेत हुनसक्ने भएकाले पनि बेनीमा पक्राउ परेकाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय दरबाङबाट समेत टोलीलाई परिचालन गरेको जनाएको छ । ग्रामिण क्षेत्रमा ट्याब्लेट नाइट्रोभेट लगाएतका प्रयोगकर्ता रहेको अनुमान गरेको छ । खाना सजिलो, किन्दा सस्तो पाइने भएकाले सदरमुकाम बाहिरका प्रयोगकर्ताले ट्याब्लेटमा जोड दिएको प्रनाउ मरासिनीको भनाई छ । बेनीमा पक्राउ परेकालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी लागुऔषध सम्बन्धि मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।