मंगलामा लोकसेवा तयारी कक्षा

मंगला गाउँपालिका–२ बावियाचौरकी सोनिया आचार्यले गाउँमै लोकसेवाको तयारी कक्षा लिइरहेकी छन् । लोकसेवामार्फत नागरिकको सेवा गर्ने सपना बुनेकी आचार्यले गाउँपालिकाको आयोजनमा १७ दिने लोकसेवा तयारी कक्षाबाट आत्मविश्वास बढेको बताईन् ।

उनीजस्तै मंगलाकै देवी कँडेलले पनि तयारी कक्षाले लोकसेवाको महत्व बुझ्ने अवसर मिलेको बताईन् । गाउँपालिकाको आर्थिक सहयोग तथा हेमन्त मल्टि एजुकेशन सिर्भिस प्रालि बागलुङको मंगला–५ अर्मनको स्वास्थ्य चौकीमा सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा गाउँपालिकाभित्रका यूवाहरूको आर्कषण देखिएको थियो । गाउँकै क्याम्पसमा अध्ययरत तथा विभिन्न निजी तथा सरकारी संघसंस्थामा करारमा कार्यरत कर्मचारीलाई गाउँमै सञ्चालित लोकसेवा तयारी कक्षाले उर्जा थपेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

‘लोकसेवामार्फत गाउँपालिकामै सेवा गर्न आउने वातावरण बनाउने प्रयासमा छौ,‘विपन्नलाई आवश्यकता परेमा थप सहयोग समेत दिएर तयारी कक्षा लिन सघाउँछौ’ रोकाले भने । उनले म्याग्दी जिल्लाबाट बैदेशिक रोजागारीमा जाने यूवाहरूको आर्कषणलाई रोक्न तयारी कक्षा सञ्चालन गरिएको बताए । उनले जिल्लाको विकासमा समेत निजामति कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । ‘जिल्लाको विकासमा बजेट ल्याउन समेत कर्मचारीको भूमिका हुन्छ,‘जुन जिल्लाबाट निजामती कर्मचारीको माथिल्लोस्तरमा पुगेका छन् त्यही धेरै बजेट पुगेको देखिन्छ’ रोकाले भने ।

तालिमको समापनको अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले पहिलोचरणमा खरिदारको पाठ्क्रमका बारेमा तालिम दिइएको बताए । उनले आगामी बजेटमा समेत थप लोकसेवा तयारी कक्षा सञ्चालन गरिने बताउँदै आवश्यकता परेमा जिल्लाबाहिर गएर समेत तयारीकक्षामा सहभागी हुने अवसर दिने भएकाले हरेक लोकसेवाको परिक्षामा गाउँपालिकाबाट नाम निकाल्नेलाई प्रोत्साहन गरिने बताए ।

सोही अवसरमा सहभागीलाई लोकसेवाको पाठ्यक्रम, शैक्षिक साम्रागी निशुल्क उपलब्ध तथा आवश्यकता परेमा कार्यालय समय बाहेक थप परामर्श समेत दिइने प्रतिबद्धता जनाइएको थियो । तालिमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम, जलजला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, बागलुङका प्रेम शर्मा र मंगलाका लेखाअधिकृत लेखनाथ अधिकारीले सहजीकरण गरेका थिए । तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।