भालुको आक्रमणबाट दानाका एक ब्यवसायीको खर्कमै चारदर्जन बढी भेडा मरे

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका एक भेडापालक कृषकका भालुको आक्रमणबाट करिव ४ दर्जनको हाराहारीमा भेडा मरेका छन् । छिमेकी जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–३ झिप्रा देउराली नजिकैको खर्कमा भालुले आक्रमण गरी दानाका शंकर गौचनको ४० वटा भेडा खर्कमै आक्रमण गरी मारेको दानाका स्थानीय पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

लेकबाट खर्कमा ल्याइएको भेडालाई धमाधम आक्रमण गर्न थालेपछि ब्यवसायी चिन्तित भएका छन् । भालुको आतंकले थप क्षती हुन नदिन ब्यवसायीले भेडाको सुरक्षा तथा थप क्षतीको विवरण संकलन गरिरहेका छन् । भालुको आक्रमणबाट भेडाहरु मरेपछि किसानलाई लाखौंको नोक्सानी भएको छ । भालुको आक्रमणबाट मरेका भेडाहरुको कुनै पनि अङ्गहरु काम नलाग्ने अवस्थामा छन् ।

पछिल्लो समय मुस्ताङ र म्याग्दीको खर्कमा भालुको आतंकले पशुपालक ब्यवसायी समस्यामा परेका छन् । चरनक्षेत्रमा दिउँसै भालुले आक्रमण गर्ने गरेको कृषकको भनाई छ । उक्त खर्कमा म्याग्दीको दाना, बेगखोला लगाएत आसपासका क्षेत्रमा ब्यवसायीका साथै मुस्ताङ्गका ब्यवसायीले प्रयोग गर्ने गरेका छन् ।