बाँदरको हातमा नरिबल जस्तै भए घुम्ती ऐना

नेपालीमा एउटा उखानै छ ‘बाँदरको हातमा नरिवल’ यो उखान नेपाली समाजमा सर्वत्र प्रयोग हुन्छ । जसको एउटा गतिलो उदाहरण बनेको छ बेनी–मालढुंगा सडकखण्ड अन्तरगत दुर्घटना न्यूनिकरणका लागि राखिएका घुम्ती ऐना ‐कन्भेन्स मिरर)। सडकखण्डमा राखिएका ऐना केही फुटेको अवस्थामा देखिन्छन भने केही जरैबाट निकालेर फालिएको छ ।

विपरित दिशाबाट आएका सवारीसाधनरू एक आपसमा दखिने गरी राखिएको ऐनालाई मदिरा सेवन गरी मध्यरातमा तोडफोड गरिएको स्थानीयको भनाई छ । ‘केही यूवाले राती तोडफोड गरे,‘हामीले रोक्ने प्रयास गर्न सकेनौ’ एक स्थानीयले भने । सडकखण्ड अन्तरगत विपरित दिशाबाट आएका सवारीसाधनहरू नदेखिने स्थानमा राखिएको ऐना छियाछिया भएपछि स्थानीयले प्रहरीलाई खवर गरेपनि जोगाउन नसकिएको बताउँदै तत्काल आवश्यक स्थानमा पुनः जडान गर्न माग गरेका छन् ।

दुईबर्ष अगाडी सडकखण्ड अन्तरगत पाँचवटा स्थानमा जडान गरिएकोमा जलजला गाउँपालिका नाईलिवाङका यूवा रमेश क्षेत्री रेग्मीले बेनीअनलाइनलाई बताए ।‘सडकको ऐना जोगाउनै मुस्किल छ,‘तोडफोडमा संलग्नलाई पहिचान गरी कारवाही गर्नुपर्छ’ रेग्मीले भने । उनका अनुसार म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकमा सवारीसाधनको अत्याधिक चापले सडक दुर्घटनाको जोखिम बढेको अवस्थामा ऐना राखिएका आसपासका स्थानीयलाई संरक्षणको जिम्मा दिनुपर्ने बताए ।

ऐनाले दुर्घटना न्यूनिकरणका साथै ध्यनी प्रदुषण कम हुने म्याग्दीका ट्राफिक जवान कमल केसीले बताए । उनका अनुसार बेनीको अस्पताल चोकमा राखिएको ऐना सूरक्षित रहेपनि बेनी–मालढुंगाको भने अस्तब्यस्त रहेको बताए । यता यातयात ब्यवसायीले समेत ऐनाले टाढाबाट आएको सवारीसाधनलाई ऐनामा देखिएपछि सजिलो हुने बताए । तोडफोड गरिएको ऐना मर्मत तथा नयाँ स्थानमा ब्यवस्थापन गर्न सम्बन्धित निकाय मौन रहेको छ । सडकखण्डमा घुम्ती ऐना तोडफोड हुदाँ मोटरसाईकल र अन्य सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ।