मंगला गाउँपालिकाले ४२ लाख चालु खर्च विकासे योजनामा विनियोजन

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीलाई मनलाग्दी सुविधा विनियोजनको चौतर्फी आलोचना भइरहेको अवस्थामा म्याग्दीको एक स्थानीय तहले भ्रमण, विभिन्न तालिम तथा कर्मचारी तथा जनप्रतिनिधिलाई विनियोजन गरेको सुविधालाई पूँजीगत तर्फ रकमान्तर गरिएको छ ।

गाउँकार्यपालिकाको बैठकबाट जनप्रतिनिधि, कर्मचारी भ्रमण, कर्मचारी पारिश्रमिक, तालिम गोष्ठी कर्मचारी कल्याण कोषको स्वीकृत २ करोड ७० लाख बजेटमध्ये ४२ लाखलाई रकमाान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए । ‘भ्रमण सहित अन्य फजुल खर्चलाई विकास बजेटमा खर्च गरिएको छ,‘विकास निर्माणका योजनालाई नै प्राथमिकता दिने गरी विभिन्न शिर्षकमा बजेट रकमान्तर गरियो’ गौतमले बेनीअनलाइनलाई भने ।

उनका अनुसार आगामी आर्थिक बर्षको बजेटमा समेत विकास सहित उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिएर बजेटको तयारीमा जनप्रतिनिधि जुटेको बताए । रकमान्तर मध्ये केही कार्यक्रमबाट समेत बचत भएको र केहीलाई निरुत्साहित गरिएको बताए । रकमान्तर गरिएको चालु खर्चलाई गाउँपालिका भित्रका आवश्यक योजना अन्तरगत कृषि, पर्यटन, सडक सहित विभिन्न क्षेत्रमा विनियोजित गरिएको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिका भित्रका जनताको आवश्यकतामा अन्तिम समयमा बजेट अभाव भएपछि चालु खर्चलाई रकमान्तर गरिएको बताए । ‘फजुल खर्च कटौतीमा विषेश ध्यान दिएको छु,‘जनअपेक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हो’ रोकाले भने । उनले गाउँपालिका भित्रका जनतालाई आर्थिक रुपमै सक्षम बनाउने गरी कृषि सहित आयआर्जनको क्षेत्रमा बजेट केन्द्रित गर्ने योजना भएकाले पनि तालिम, गोष्ठी, भ्रमण लगाएतका कार्यक्रमलाई आगामी बजेटम कम प्राथमिकता दिने बताए ।