जेठ महिनाको प्रचण्ड गर्मी । होटलको हलभित्र साहित्यिक कार्यक्रम भैरहेको छ । हल स्रोता र दर्शकले खचाखच भरिएको छ । उनीहरुलाई बढ्दो गर्मीको कुनै वास्ता नै छैन । वास्ता छ त केबल स्रष्टाको गजलका झोक्काहरु सुन्ने । सिलिङमा झुण्डिएका पङ्खाले स्रष्टा र स्रोतालाई सितलता प्रदान गरिरहेका छन् ।
स्टेजको छेउमै छन् दुईजना गितार र बाँसुरी बजाउने । उनीहरुले गजलमा म्युजिक भरेर थप सुगन्ध थपिदिएका छन् । कार्यक्रम सञ्चालकले स्टेजमा बोलाएपछि स्टेच चढ्नुभएका युवा गजलकार दिपक शर्मा (दिपु)ले सुनाउनुभयो आफ्नो गजका सेयरहरु यसरी ।
खै के–के गरायो, गरायो रक्सीले
थोरै खाँदा, धेरै बोल्ने गरायो रक्सीले ।
अहँ कहिल्यै नाचेथिन, कम्मर भाँचेर
तर, आज समाचारमा नचायो रक्सीले ।
म विना त, तँ विना म, के बाँचम र भन्दै
चोखो माया दिई, दिलमा सजायो रक्सीले ।
हिँजोसम्म बफ चल्दैन गफ गर्ने म
तर आज बाहुनलाई, फसायो रक्सीले ।
सोच्थे कहिलेकाहीँ, किन पिउँछन् होला
अहिले मेरो सारा पिर, हटायो रक्सीले ।
यसपछि सल्यानदेखि गजलको कोसेली लिएर म्याग्दी आइपुग्नुभएका सिपी सखीले यसरी गजलका झोक्काले प्रहार गनुभयो ।
युवा विदेशियो पसिना बेच्न झोला बोकेर ।
मन्त्री उड्यो सुट्केसमा नदी–खोला बोकेर ।
मायामा खोई केले मुल्य पाउने हो था छैन ।
एउटाले गजल लेख्यो उ हिँड्यो तोला बोकेर ।
कोही पेट भर्न खान्छन् त, कोही पचाउनलाई ।
कोही भोकै हिँड्छन्, कोही हज्मोला बोकेर ।
त्यो अदा लिएर जब उनी कसैसँग हिँड्थिन ।
लाग्छ कोही हिँड्दछै, साथमा कोकाकोला बोकेर ।
आज फेरी एउटा सपना भोकै सुतेको छ रे ।
भोली पक्का केही परिवर्तन हुन्छ होला बोकेर ।
सरकार अब आउ भाँडाकुटी खेलौं भन्छ ।
उनै चोर पुलिस खेल्न गए बन्दुक गोली बोकेर ।
यसैगरी स्टेच चढेका म्याग्दीका युवा गजलकार दर्पण रोकाले आमाको सम्झना गर्दै यसरी गजल गुन्गुनाउनुभयो ।
डोको बोकी बेंसीतिर झर्दै हौली आमा
बारीभरी कोदो मकै छर्दै हौली आमा
गाउँ छोडी शहर पसें के गरेंर खै
खाली खुट्टा भीरपाखा चर्दै हौली आमा
मीठो मसिनो खुवाउन सकिन मैले
आटो ढिँडो खाँदै पेट भर्दै हौली आमा
मनभरी पीडा पिठ्युभरी भारी बोकी
जसोतसो खोल्साहरु तर्दै हौली आमा
खुर्पिटो र हँसियासँग दुःखसुख पोख्दै
छाक टार्न अर्मपर्म गर्दै हौली आमा
गजलउत्सव कार्यक्रममा एकमात्र महिला सहभागी रौतहटबाट आउनुभएकी गजलकार रेणुका जिसी खतिवडाले आफ्नो यस्तो गजल सुनाउनुभयो ।
नसम्झनु यात्रामा सधैं मुस्किल आउँछ ।
अन्धकार चिरेर रातमा जुन आउँछ ।
बाबु ! आँखा कमजोर याद बलियो भयो
भाग बस्छु हरेक गासमा तेरै मुख आउँछ ।
आफ्नै घार रित्तो पारेर माहुरी उडाउन
कहिलेसम्म यो देशमा जहाज आउँछ ?
सरकार तिम्रो भत्ता तिमीसँगै साट्न चाहन्छु
के बराबरीमा छोरा आउँछ, मेरो घर आउँछ ?
गजल सुनाउने अन्तिमतिरको पालोमा पर्नुभएका बागलुङका पत्रकार समेत रहेका युवा गजलकार राम अविरलले सुनाएको गजल यस्तो थियो ।
अचेल घरहरु पनि कारागार जस्ता छन् ।
र, कविताहरु पनि समाचार जस्ता छन् ।
कहाँ सकिन्छ अब, नजरमा सजाउन
यी फुलहरु पनि त तरबार जस्ता छन् ।
छैन भरोसा छैन, आफ्नै प्रगतिमाथि
हाम्रा अधिकृत पनि हल्दार जस्ता छन्
मेरो देश मात्र, यस्तो देश हो जहाँका
किसानहरु पनि कलाकार जस्ता छन्
कस्तो बिडम्बनासामु उँभिनुपरेको
यी बुढाहरु पनि त कुमार जस्ता छन्
गजलउत्सवका सहभागीहरुमाझ यस्तै–यस्तै सेयर भएका विविध क्षेत्रका गतिविधि समेटिएका गजलका झोक्काहरु गुन्जिएका थिए । अन्य कार्यक्रमहरुमा बाहिर र भित्र गरिरहने सहभागी साहित्यिक कार्यक्रममा भने मन्त्रमुग्ध भएर गजलकारहरुको गजल सुनेर बसिरहे । गजलकारहरुले गहकिला, मार्मिक र तर्कयुक्त शब्दले फुलबुट्टा भरेका गजलका सेयरहरु सुनाउँदै गर्दा कतिपय सहभागीहरु भावुक बनेका थिए । साहित्यको रसमा डुबेर साहित्यिक मनहरु आजको कार्यक्रममा हलचल पनि नगरी बसेका भन्दै गजलकारहरुले नै सहभागीलाई व्यङ्ग्य समेत हानेका थिए ।
‘अग्रजको सम्मान, अनुजलाई प्रोत्साहन ! भाषा, साहित्य, समाजसेवा हाम्रो अभियान !’ भन्ने मूल नारासहित स्थापित म्याग्दी साहित्य सञ्चारले आफ्नो तेस्रो अधिवेशनको अवसर पारेर गजलउत्सवको आयोजना गरेको थियो । गजलउत्सवमा सल्यानका सिपी सखी, बागलुङका राम अविरल, स्याङ्जाका मिलन समीर, रौतहटकी रेणुका जिसी, नवलपुरका आदर्श सुशील, कैलालीका हिक्मत ढकाल, काठमाडौका भूपि सरोबर, पर्वतका डिआर शर्मा, म्याग्दीका दर्पण रोका र दिपक शर्मा (दिपु)ले गजलवाचन गरेका थिए । पाँच वटाका दरले गजलवाचन गरेका उनीहरुले माया, प्रेम, देशको समसायिक तथा सामाजिक अवस्था, बेरोजगारी समस्या जस्ता विषयमा गजलमार्फत निकै चोटिलो प्रहार गरेका थिए ।