रघुगंगा गाउँपालिकाको गाउँसभा असार ५ गते हुने

जेनिशा पुरी/ रघुगंगा गाउँपालिकाको गाउँसभा आगामी असार ५ गते हुने भएको छ । मंगलबार गाउँकार्यपालिकाको बैठकले आगामी आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेकोे हो । बैठकले आगामी बर्षको नीति तथा कार्यक्रममा ५ लाखभन्दा कम बजेटका योजनालाई निरुत्साहित गर्नुका साथै एक वडा एक गौरवको योजना, विद्यालय सुधार कार्यक्रम, कृषि, पर्यटनको विकास लगाएत गाउँपालिका भित्र तालिम केन्द्रको स्थापना गर्ने गरी दिर्घंकालिन योजनालाई केन्द्रित गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

‘कार्यपालिकाको बैठकसँगै गाउँसभाको तयारीमा जुटेका छौ,‘वडास्तरबाट आएका योजनाहरूलाई छलफल सहित पारित गरिएको छ’ थापाले भने । गाउँपालिकाले समपुरक कोषमा ७५ लाख, विपद् ब्यवस्थापनमा २० लाख लगाएत विभिन्न कोषहरूमा बजेट विनियोजन गरेको छ। गाउँपालिकाले समपुरक कोषलाई प्रदेश सरकारले मागेको गौरवका पाँच योजना मध्ये लागत साझेदारीमा खर्च गर्ने गरी योजना पठाइएकाले कार्यान्वयनमा प्रयोग गर्ने जनाएको छ ।

‘कार्यक्रम खर्चलाई घटाएका छौ,‘हरेक वडामा गौरवका योजनाहरूलाई प्रस्ताव गरिएको छ’ गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने । उनका अनुसार भुगोल, जनसंख्यालाई आधार बनाएर विकट वडालाई समेत बजेटमा प्राथमिकता दिइएको उनले बताए । ‘बस्तीबाट आएका योजनालाई प्राथमिकता दिएका छौ,‘विगतका बजेटभन्दा उत्कृष्ट बानाउने प्रयास गरेका छौ‘ उनले भने ।

तीनवटा वडामा तालिम केन्द्रको स्थापना गरी गाउँपालिका भित्रका हरेक घरधुरीलाई रोजागारको अवसरका दिने गरी विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गर्ने हल सञ्चालन गर्ने अध्यक्ष भण्डारीले बताए । उनले बजेटमा गाउँपालिकाले सञ्चालन गरेको सार्वजनिक सुनुवाई तथा स्थलगत अनुगमनका क्रममा देखिएका आवश्यकतालाई समेत केन्द्रित गरिएको बताए । यसैबीच जिल्लाका अन्य गाउँपालिकाले समेत गाउँकार्यपालिकाको बैठकसँगै योजना बनाउन सक्रिय भएका छन् ।