धौलागिरी गाउँपालिकाद्वारा सुनौलो हजार दिनका आमाहरुलाई कुखुराका चल्ला वितरण (फोटोफिचर)

दुर्गम तथा विकट क्षेत्रका गर्भवती महिलाहरुलाई कुखुराका चल्ला वितरण भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको आयोजना र मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको सहजीकरणमा सुनौलो हजार दिनका आमाहरुसँग अध्यक्ष कार्यक्रममार्फत उनीहरुलाई चल्ला उपलब्ध गराइएको हो ।

धौलागिरी गाउँपालिका–२, लुलाङका ९४ जना, ४ मुदीको खिबाङका ५७ र ५ मल्कबाङको ७० जना गरी कुल २ सय २१ जना आमाहरुलाई कुखुराका चल्ला वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई अण्डा उत्पादन र मासुका लागि गिरीराज जातको कुखराको चल्ला वितरण गरिएको मिलन म्याग्दीका फिल्ड संयोजक रनबहादुर सारु मगरले जानकारी दिए ।

उनका अनुसार प्रतिव्यक्ति महिलालाई ४ ओटाका दरले कुल ८ सय ८४ ओटा चल्लाहरु वितरण गरिएको छ । यसैगरी चल्लाको साथसाथै ८ केजीका दरले दाना र एकएक गोटा चल्लालाई दाना खुवाउने भाँडो (फिडर) पनि प्रदान गरिएको थियो । कुखुराका चल्ला लैजानका लागि अधिकांश गर्भवती तथा सुत्केरी महिलाहरु स्वयं गाउँदेखि बच्चासहित पैदलयात्रा गरेर पुगेका थिए । सुनौलो हजार दिनका महिलाहरुलाई पोषणयुक्त खाना खुवाउनका लागि गाउँपालिकाले कुखुराका चल्ला खरिद गरी वितरण गरेको बताएको छ ।

महिला गर्भवती भएदेखि बच्चा जन्मिएर दुई वर्षसम्मको अवधिलाई सुनौलो हजार दिन भनिन्छ ।यसअघि आइतबार गाउँपालिका अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यमा लुलाङ र मुदी खिबाङका सुनौलो हजार दिनका आमाहरुलाई कुखुराका चल्ला वितरण गरिएको थियो । सोमबार मल्कबाङका आमाहरुलाई चल्ला वितरण गर्दै धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले कुखुराको चल्लालाई राम्रोसँग हुर्काएर त्यसबाट उत्पादित अण्डा उपभोग गर्न आग्रह गरेका छन् ।

उनले गर्भवती र सुत्केरी अवस्था अत्यन्तै संवेदनशील रहेकोमा जोड दिँदै पोषणयुक्त खाना खानुपर्ने, गह्रौं काम गर्न नहुने र आराम गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । सानै उमेर विवाह गर्दा र बच्चा जन्माउँदा स्वास्थ्यमा विभिन्न किसिमका रोगहरु लाग्ने र बालबालिकालाई समेत असर गर्ने भएकाले त्यतातिर पनि ध्यान दिन उनले सुझाव दिएका छन् ।

कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले समाजमा बढ्दै गएको बालविवाहलाई रोक्नुपर्ने र कुपोषण घटाउनका लागि विभिन्न पोषणयुक्त खानाहरु खानुपर्ने बताइन् । सुआहारा कार्यक्रमका बागलुङ–म्याग्दी संयोजक चिरञ्जीवी दाहालले विगतमा सुआहारा कार्यक्रमार्फत सुनौलो हजार दिनका महिलाहरुलाई पोषणका लागि कुखुराका चल्ला वितरण गरिएकोमा अहिले गाउँपालिका आफैले यो कार्यक्रम सञ्चालन गरेकोमा सराह्रनीय रहेको बताए ।

उनले गर्भवती, सुत्केरी तथा बच्चा ६ महिना पुगेपछि दैनिक रुपमा अण्डालगायत पौष्टिक आहार खुवाउनुपर्नेमा जोड दिएका थिए । चल्ला वितरण कार्यंक्रम धौलागिरी–६, मराङका वडा अध्यक्ष राजाराम उपाध्यायको अध्यक्षता र वडा सचिव वेदनाथ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै गाउँपालिकाले बालविवाह न्युनीकरण गर्न भन्दै चालु आर्थिक वर्षमै वडा तहमा उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।