बेनीमा खानेपानीको अभाव भएपछि ट्याक्टरमा निशुल्क खानेपानी वितरण

पाइप फुटेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको हाहाकार मच्चिएपछि एक यूवाले ट्याक्टरमा बजारबासीलाई निशुल्क खानेपानी वितरण गरेका छन् । पिउने पानीको अभावले बेनीबजारबासीले आसपासका खोला तथा नदी, मिनिरलवाटर प्रयोग गरिरहेको अवस्थामा बेनी नगरपालिका वडा नं २ हाँडेभीर निवासी कलदिप जुग्जालीले ट्याक्टरमा पानी ड्रम राखेर बेनीबजारबासीलाई खानेपानी वितरण गरेका छन् ।

लगातार एकसातादेखि खानेपानीको हाहाकार भएपछि बेनीबजारबासीलाई पानीको प्यास मेटाउन जुग्जालीले ट्याक्टरमा पानी वितरण गरेका हुन् । ‘खानेपानीको अभावमा चरम अभाव भएपछि सकेसम्म घरदैलोमै पानी पु¥याउने प्रयास गरेको छु,‘आवश्यकता अनुसार ड्रममा पानी ल्याएर बजारमा वितरण गरेको छु’ जुग्जालीले बेनीअनलाइनलाई भने । उनले खानेपानीको अभाव झेल्दै आएका बेनीबजारबासीलाई साथ मात्रै दिएको बताउँदै भविस्यमा थप योजना सहित निशुल्क खानेपानी वितरण गर्ने बताए ।

ड्रममा पानी लिएर बजारमा गएपछि बजारबासी खुसी भएको न्यूरोडका बिजुन केसीले बताए । उनले खानेपानीको अभाव भइरहेको अवस्थामा वितरण गर्नु ठूलो कुरा भएको बताए । जुग्जालीले लगातार वितरण गरेका थिए । उनले आवश्यकत परेमा सोमबार सहित अन्य समयमा समेत वितरण गर्ने बताए । बेनी खानेपानी तथा सरसफाई उभपोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेस्थित पुम्दीखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका वितरण गदैं आइरहेको छ ।

लगातार विभिन्न स्थानमा पाईप फुटेपछि खानेपानीको अभाव हुने गरेको छ । धारामा पानी नआउँदा बजारबासी आकाशे पानीको भरमा जीविका चलाउँदै आएका छन् । बेनी जोमसोम सडक विस्तारको क्रममा खानेपानीको पाइप फुटेपनि वितरणमा समस्या भइरहेको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए । उनले आइतबार साँझदेखि खानेपानी नियमित भएपनि समस्या बल्झिने गरेको बताए । पुम्दी र भकिम्लीको दुधेखोलबाट ल्याइएको मुहानबाट ल्याइएको बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ ।