संरक्षण र अनुदानको पर्खाइमा पानीघट्ट

रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौ पहिलेदेखि म्याग्दीका ग्रामिण भेगहरुमा अन्न पिसानी गरिदै आएको पानीघट्ट लोप हुँदै जान पछि यसको संरक्षणका लागि पहल गर्न आवश्यक देखिएको छ । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् ।

गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको दुई दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका मालिका गाउँपालिका वडा नं २ रुमका पृथु विकले बताउनुभयो । पानी घट्टमा पिसेको पीठोबाट बनेका रोटी लगाएतका परिकारहरु स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी हुने स्थानीय बूढापाकाहरु बताउछन् ।

त्यसका साथै एक दशक अघिसम्म परम्परागत ग्रामिण जीवनको अभिन्न अंगजस्तै बनेको पानी घट्ट भावि पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेकोले घट्ट संचालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भएपनि यस्ता रैथाने सीपको संरक्षण गर्नु पर्ने म्याग्दीको इतिहाँस तथा संस्कृतिका अध्यता कृष्णवहादुर बानियाँ बताउनुहुन्छ ।

पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नु पर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो रहनुपर्ने मालिका गाउँपालिका २ रुमका वडाअध्यक्ष नरबहादुर पुन बताउनुहुन्छ । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा,रुम,ओखरबोट लगाएतका गाउँमा फाटुटफुट्ट पानी घट्ट चल्ने गरेका छन् ।