आहा ! रुपवती रुप्से (फोटोफिचर)

अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षक स्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड लाग्न थालेको छ । बेनी जोमसोम सडक खण्ड (कालिगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या बढ्दै गएको छ ।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना र अन्धगल्छीको उच्च पर्यटकीय सम्भावना भएपनि यसबाट स्थानीयले उचित लाभ लिन भने सकिरहेका छैनन् । पर्यटकहरुलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयले बताएका छन् । झरनामा रमाउनका लागि आएका पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडक समेत अवरुद्ध हुने गरेको छ ।

रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावरका साथै  अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको छ । बेनीका युवा सुवर्ण केसीले रुप्सेमा रमाउन आउनेहरुलाई लक्षित गरी होटेल तथा रेष्टुरेन्ट पनि सञ्चालन गरेपछि रातको १० बजेसम्म यहाँ पर्यटकहरुको भिड लाग्ने गर्छ ।

पछिल्लो तीन वर्ष यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको छ । ती पर्यटकहरु यहि झरना देखेर लोभिने गर्छन ।

वि.सं १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएपनि अहिले उक्त टिकट प्रचलनमा छैन । साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग र भ्युटावर निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले अब प्राथामिकताका साथ बजेट विनियोजन गर्ने बताएका छन् । स्थानीयले झरनामा कान्छा भुमे देवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा बोको बली चढाउने गर्छन । झरनलाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।