काउलेगौंडाका सूजन नयाँ राष्ट्रिय खेलाडी

कुनैसमय गाउँमा मोजाको भकुन्डो बनाएर खेल्ने बेनी नगरपालिका–९ घतान काउलेगौंडाका सुजन चोखाल आगामी डिसेम्बर १ देखि १० तारिकसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष भलिबल टोलीमा समावेश भए । नेपाल भलिबल संघले छनौट गरेको टोलीमा गण्डकी प्रदेशमा उत्कृष्ट खेल देखाउन सफल भएका चोखालको स्थान सुरक्षित छ । गाउँघरमा खेतबारी, साँधुरो मैदानमा खेल्दै भलिबल सिकेका चोखाल गाउँबाट जिल्ला, साविकको अञ्चल क्षेत्रीय हुदै राष्ट्रिय टोलीमा पुगेका हुन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मुख्य आधार बनाएर सागको लागि खेलाडी छनोट गरिएको टोलीको कप्तानमा इमबहादुर रानामगर छन् ।त्यस्तै, छनोट भएका अन्य खेलाडीमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट मानिएका खेलाडीहरु नै देखिन्छन् । विना कुनै अभ्यास मोजाको भकुन्डो बनाएरै भलिबल खेलमा इन्ट्री गरेका चोखाल काउलेगौंडा यूवा क्लव(केवाईसी) खेलाडी हुदै नेतृत्व गदैं मेलापर्वमा पाँचदर्जन भन्दा धेरै खेलमा उपाधी जिताउन सफल खेलाडी हुन् ।

पारिवारिक तथा आर्थिक समस्यासंगै संघर्ष गदैं मेलापर्वमै जितेको पुरस्कारले घरखर्चमा समेत सघाउने गरेका चोखालले राष्ट्रिय टोलीमा नाम समावेश हुदाँ एउटा सपना पुरा भएको बताउँछन् । ‘भलिबल खेलबाटै भविस्य खोज्दैछु,‘सबैको नजरमा पर्ने गरी खेल्छु’ चोखालले बेनीअनलाइनलाई भने । उनले बन्द प्रशिक्षणमा धेरै सिक्ने अवसरको रुपमा समेत लिएको बताए । आगामी असारदेखि नै बन्द प्रशिक्षण सुरू हुने भएकाले अनुभवी खेलाडीबाट समेत खेलमा नयाँपन सिक्ने बताए ।

हालै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत गण्डकी प्रदेशबाट उत्कृष्ट खेल प्रर्दशन गरेकै कारण राष्ट्रिय प्रतियोगितामा छनौट भएका चोखालले राम्रो खेल प्रर्दशन गर्न सकेमा प्रशिक्षकको समेत नजरमा पर्ने बताए । सेटरको भूमिकामा मैदानमा देखिने चोखालले गतबर्ष सोलुखुम्बुको नाम्चे बजारमा आयोजित सर्वाधिक धनराशीको खुल्ला भलिबल प्रतियोगितामा ब्यवसायीक खेल खेल्न हेलिकप्टर चढेर नाम्चे पुगेका थिए ।

राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागी हुने अवसर पाएका चोखाल हेलिकप्टरमै उडेर प्रतियोगितामा पुग्ने अवसर पाएपछि थप उत्साहित भएको अनुभव समेत सुनाए । ग्रामिण क्षेत्रमा रहेका खेलकुदका प्रतिभालाई उजागर गर्न समस्या भएकाले राम्रा खेलाडीलाई पनि ब्यवसायीक खेलमा सहभागि गराउन समस्या भएको भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताए । ‘गाउँमा खेल्ने पुरानो दिनको सम्झना आउँछ,‘भलिबलमा म्याग्दीले नयाँ राष्ट्रिय खेलाडी पाएको छ’ बानियाँले भने । उनले भलिबल खेलमा म्याग्दीमा सम्भावना भएका खेलाडीहरु रहेको बताए ।