राष्ट्रिय प्रतियोगितामा गण्डकीबाट म्याग्दीका ८ जना छनौट

गण्डकी प्रदेशस्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सबाट राष्ट्रिय प्रतियोगिताका लागि म्याग्दीका ८ खेलाडी छनौट भएका छन् । दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स–२०७६ को जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छनौट भएर प्रदेशमा विभिन्न विधामा प्रतिस्पर्धा गरेका ८ खेलाडी काठमाण्डौमा हुने उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि छनौट भएका हुन् ।

पोखरामा आयोजित छनौट प्रतियोगितामा एथलेटिक्स तर्फ २ सय मिटर दौडमा रोहन विश्वकर्मा, श्रेया रोका र मार्सल आर्टतर्फ ३५ केजीमा विपिन रोकाले स्वर्ण पदक जितेको कराँते प्रशिक्षक विरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा कराँतेतर्फ डेलिमिया गर्बुजा ३० केजी, उसुतर्फ प्रमिसा बानियाँ ३० केजी , तेक्वान्डोमा प्रवेश कार्की ३५ केजी, इशा गुरुङ ३८ केजी र डेजु खत्रीले ३० केजी तौल समुहमा रजत पदक जितेका थिए ।

प्रतियोगितामा स्वर्ण र रजत पदक विजेता खेलाडीले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गदैं सोमबारदेखि सुरू हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् । पोखरामा सम्पन्न भएको खेलमा म्याग्दीबाट प्रतिनिधित्व गरेका उसुतर्फ सञ्जय विक, समिक्षा छन्त्याल, कराँतेकी अरुणा फगामी,प्रेरणा रोका, रविन छन्त्याल, तेक्वाण्डो तर्फ“ प्रकृति रन्तिजा र विश्वास आलेले काँस्य पदक जितेका थिए । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले राष्ट्रिय खेलमा म्याग्दीका प्रदेश हुदै छनौट भएका खेलाडीबाट पदकको अपेक्षा गरिएको बताए ।