अब सररर….. गाडीमा मालिकाको धुरी

प्रशिद्ध धार्मिक र पर्यटकीय स्थल मालिका धुरीको नजिकै मोटरबाटो पुगेपछि बुद्धपूर्णिमाको दिन भाकल र पूजा गर्न मालिका मन्दिरमा जाने भक्तजनहरु मोटरमा चढेर जान पाउने भएका छन् । मालिका गाउँपालिका ७ बिम र ६ दुखु तथा रघुगंगा गाउँपालिका ६ ठाडाखानीको शिरमा रहेको मालिका धुरीलाई पर्यटकीय गन्तवय स्थलको रुपमा विकासको लागि मालिका गाउँपालिकाले सडक सञ्जालसंग जोडेको हो ।

मालिका–७ बिमबाङ सम्म पुगेको सडकलाई विस्तार गरि मालिका धुरीको फेदीमा रहेको नागीथला सम्म पु¥याइएको छ । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट अहिलेसम्म करिब ७ किलोमिटर नयाँ ट्याक खन्ने काम सकिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । गाडीबाट झरेर करिब ४० मिनेटको पैदल यात्रापछि प्रशिद्ध धार्मिक स्थल मालिकाको धुरीमा पुग्न सकिन्छ ।

समुन्द्रि सतहदेखि तीन हजार ४ सय मिटरको उचाईमा अवस्थित मालिका धुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि गाउँपालिकाले सडकको पहुँच संगै अन्य पर्यटन पूर्वाधार निर्माणमा समेत जोड दिएको अध्यक्ष रोकाको भनाइ छ । सत्तल,अप्ठ्यारो ठाउँहरुमा रेलिङ, पदमार्ग लगायतका पूर्वाधार निर्माणमा तिव्रता दिइएको अध्यक्ष बताउनुभयो । उहाँका अनुसार, अन्य पर्यटन पूर्वाधार निर्माणको लागि चालु आर्थिक बर्षकै लागि गाउँपालिकाले थप रु १५ लाख बजेट समेत विनियोजन गरेको छ ।

म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिका धुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङखलाको लहरै दृष्य अवलोकन गर्न सकिन्छ भने यहाँबाट सुर्योदयको दृष्य मनमोहक देखिन्छ । मालिका क्षेत्रको जंगलमा पाईने लालीगुराँस, वन्यजन्तु, पंक्षि, विभिन्न प्रजातीका फुल, जडिवुटी र वन पैदावार थप आकर्षण हो । धर्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको मालिका धुरीमा पुजा गरेमा मनोकामना पुरा हुने धार्मिक मान्यता समेत रहेको छ ।

यहाँ चण्डी पूर्णीमा, बुद्ध पूर्णिमा भाईटिका र बालाचर्तुदर्शीमा पुजा तथा भाकल गर्नका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका किसानी कृषि प्राविधिक शिक्षालय विमका संयोजक करन कडेलले जानकारी दिनुभयो । मालीका, कालीका र जाल्पादेवीको मुर्ती रहेको मालिका मन्दिरमा भाकल पुरा भएमा बोका र परेवाको बली चढाउने चलन रहेको छ । वि.स १९१० देखि पुजाआजा हुन थालेको ईतीहाँस रहेको मालीकामा पछिल्लो समय बलीको बिकल्पमा नरीवल चढाउने चलन बसाईएको छ । भगवान शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किम्बदन्ती छ ।