लमसुङवासी ३ वर्षदेखि अन्धकारमा बस्न बाध्य

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङ गाउँका करिब ४ सय बासिन्दा साढे ३ वर्षदेखि अँध्यारोमा बस्न बाध्य भएका छन्। ०७२ साल भदौमा आएको पहिरोले स्थानीय दरखोला लघु जलविद्युत आयोजना–१ क्षतिग्रस्त भएपछि बन्द भएको विद्युत आपूर्ति अझै अवरुद्ध छ। अहिलेसम्म पनि आयोजना मर्मतसम्भार हुन नसक्दा सञ्चालनमा आउन नसकेकाले लमसुङवासी अन्धकारमा बस्न बाध्य छन्।

यति लामो समय बत्ती बस्नुपर्दा स्थानीयले निकै सास्ती खेप्नुपरेको धौलागिरि गाउँपालिका–२ लमसुङका वडा सदस्य केशवबहादुर पुर्जाले बताए। जलविद्युत आयोजना बन्द भएसँगै लमसुङमा सञ्चालन हुँदै आएको हाते कागज उद्योग पनि बन्द भएपछि त्यस क्षेत्रको एकमात्र रोजगारीको माध्यम पनि स्थानीयले गुमाएका छन्। विद्युत अभावमा स्थानीयले मोबाइल चार्ज गर्नेदेखि लिएर कुटानी पिसानी, टेलिभिजन हेर्न नपाउनुका साथै बालबालिकाको अध्ययनमा समेत असर परेको स्थानीयको गुनासो छ।

पछिल्लो समय धौलागिरि गाउँपालिकाको पहलमा मर्मतसम्भार तीव्र पाएको र असार मसान्तसम्म मर्मत सकेर विद्युत सुचारु गरिने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए।‘डेढ वर्षसम्म लमसुङवासीले धेरै सास्ती खेप्नु प-यो, अब छिटै उहाँहरू उज्यालोमा बस्न पाउनु हुनेछ’, उपाध्यक्ष छन्त्यालले भने, ‘यसका लागि हामीले प्राथमिकतापूर्वक मर्मत गर्न लगाएका छौं।’

विद्युत सञ्चालनमा आएलगत्तै कागज उद्योग पनि सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताए। हाते कागज उद्योग यस क्षेत्रको महत्वपूर्ण उद्योग भएकाले स्थानीयलाई तालिम तथा आधुनिक औजारको व्यवस्था मिलाएर स्वरोजगार बनाइने उनको भनाइ छ। कागज उद्योग पुनःसञ्चालन गर्न सके यस क्षेत्रका ५० जनाभन्दा धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउने सम्भावना रहेको वडा सदस्य केशरबहादुर पुर्जाको भनाइ छ।