पक्की पुल नबन्दा छिनछिनमा रोकिन्छ बेगखोला सडक

लगातारको बर्षासँगै आएको बाढीले जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगखोलामा सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत साविक बेगखोला गाविस–६ मा रहेको मानबस्तीमा बाढी पसेसँगै बर्षाका कारण अवरुद्ध हुने सडकमा पक्की पुल निर्माण नबन्दा समान्य बर्षाले घण्टौसम्म सडक अवरुद्ध हुने गरेको छ । यसै साता दुईपटकसम्म सडक अवरुद्ध भएपछि स्काभेटरको प्रयोग गरी अवरोध हटाइएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

‘पक्की पुल नहुदाँ अवरुद्ध सुरू भयो,‘म्याग्दी खण्डको ठाउँठाउँमा सडक अवरुद्ध हुन थालेको छ’ शेरचनले बेनीअनलाइनलाई भने । उनले अबिरल बर्षा र कमजोर जमिनका कारण उत्तरी क्षेत्रमा बर्षातको समयमा यात्रा गर्न जोखिम मोल्नुपर्ने अवस्था भएको बताए । समान्य बर्षामै बेगखोला उर्लिएर आउँदा घण्टौसम्म सडक अवरुद्ध हुने गरेको छ ।बेगखोलामा पक्की पुन नबन्दासम्म उत्तरी क्षेत्रमा जनताले निकै सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ ।

बेगखोलाबाट तिप्लाङ पढ्न जाने विद्यार्थी समेत खोला उर्लिएपछि अलपत्र पर्ने गरेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा हिलाम्मे सडकमा ट्रक फसेपछि मङ्गलबार साँझदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदाँ बेनीतर्फ र छिमेकी मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाबाट आउँदै गरेका यात्रु अलपत्र परेका छन् ।

बर्षाले अवरुद्ध सडक बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरका साथै नेपाली सेनाको टोलीले पन्छाउने प्रयास गरेको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण सडकखण्ड अन्तरगत बेगखोला, तिप्ल्याङका साथै अन्नपूर्णको भुरुङ तातोपानी, दानाको गुईठे, काभ्रेभीर लगाएतका क्षेत्रमा सडक अवरुद्ध हुने गरेको छ ।