पुलाचौरमा कांग्रेसको जागरण अभियानः ‘डटेर लडौं,खटेर लागौं’

हिमाल,पहाड,तराई,मधेस जागरण अभियान सहित गाउँका वस्तीवस्तीमा पुगेको नेपाली कांग्रेस म्याग्दीले आफ्ना कार्यकर्ताहरुलाई भ्रष्टाचार,अधिनायकबाद, महङ्गी र अन्यायका विरुद्ध डटेर लड्न आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

मंगलवार बेनी नगरपालिका ५ पुलाचौरमा आयोजित घरदैलो जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् अभियानका संयोजक माधवप्रसाद रेग्मीले वर्तमान सरकारको अधिनायकवादका विरुद्ध डटेर लढ्न र विकास तथा समृद्धिका लागि खटेर जनतासंग होस्टेमा हैंसे गर्न कांग्रेसका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको रेग्मीले देशको राष्ट्रियता,स्वतन्त्रता र सार्वभौमिकताका लागि ज्यानको बाजी लगाउदै आएको नेपाली कांग्रेसले अधिनायकवादलाई कुनै पनि हालतमा नसहने बताउनुभयो ।

कार्यक्रममा टोलीका सहसंयोजक हिरा पुन,किसान संघ म्याग्दीका सभापति सम्मरबहादुर खत्री,भूपु सैनिक संघका सभापति कर्णवहादुर बानियाँ,क्षेत्रीय प्रतिनिधि शान्ति शर्मा,यामवहादुर बानियाँ,खेमराज पौडेल लगाएतले बोल्नुभएको थियो । सोही अवसरमा स्थानीय डिलवहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको रेग्मीले जानकारी दिनुभएको छ ।

जेठ ३ गतेदेखि गाउँ पसेका म्याग्दी कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न समूह बनाएर जागरण अभियानलाई तिब्रता दिएका हुन् । अभियानमार्फत कांग्रेस हरेकको घरघर र मनमनमा पुग्ने उद्धेश्य अनुरुप संचालन गरिएको कार्यक्रममा वोल्दै टोलीका सदस्यहरुले आन्तरिक संगठन सुदृढिकरण,स्थानीय स्तरमा भएका विकास निर्माणको समिक्षा,राष्ट्रिय राजनीति र वर्तमान समसामयिक विषयमा जनतालाई जानकारी गराएका थिए । कार्यक्रम नेपाली कांग्रेस बेनपा ५ का सभापति हेमवहादुर खत्रीको सभापतित्व,तेजप्रकाश बानियाँको स्वागत र अभियानका सदस्य हिमवहादुर भण्डारीको संचालनमा सम्पन्न भएको थियो । धु्रबसागर शर्मा