विद्यार्थीको मतदान बाटै चुनिए अभिनव आचार्य

लाइनमा बसेर कर्मचारीलाई परिचयपत्र देखाउँदै मतदाता, आसपासमा सुरक्षाकर्मी, मतदानस्थलमा राखिएका मतपेटिका । भट्ट हेर्दा कुनै निर्वाचन जस्तै देखिन्थ्यो । मतदान केन्द्र बाहिर ४ जना उम्मेदवारले अन्तिम अवसरका रूपमा मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको दृश्य हेर्न लायकको थियो ।

निर्वाचनकै झल्को दिने गरी बेनी नगरपालिका वडा नं ७ न्यूरोडस्थती बेनी आवासीय माविमा आयोजित मतदान कुनै सार्वजनिक पदमा पुग्ने नभई विद्यार्थीको नेता अर्थात क्याप्टेन छनौटका लागि भएको मतदानको दृष्य हो ।

विद्यालयमा प्रजातान्त्रिक अभ्यासबाटै विद्यार्थीका गुनासो, आवश्यकता तथा गतिविधिको नेतृत्व गर्ने गरी गरिएको निर्वाचनमा कक्षा ९ का अभिनव आचार्यले ९५ मत ल्याउँदै निर्वाचित भएको निर्वाचन अधिकृत दिनेश घर्तीले बताए । उनका अनुसार मुख्य पदमा चारजनाको उम्मेदवारी परेपछि मतदान प्रक्रियामा आचार्य विजय भएको बताए ।त्यस्तै सहायक क्याप्टेनमा मनिश तिलिजा, प्रार्थना क्याप्टेनमा बसन्त सापकोटा, निलो सदन सुस्मा थापा, पहेलो सदन सोपिया पुन, हरियो सदन राजिव भण्डारी र रातो सदनमा रजनी खत्री निर्वाचत भएका छन् ।

निर्वाचन प्रक्रियामा उम्मेदवारले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सहित आफ्नो योजना समेत सुनाउने गरेको विद्यालयलका लेखापाल बिशाल खत्रीले बेनीअनलाइनलाई बताए । निर्वाचनका विद्यालयकै विद्यार्थीको नेता चुनिएपछि आचार्यले शैक्षिक र अतिरिक्त क्रियाकलाप सहित विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागितालाई थप उर्जा दिने बताएका थिए ।

‘मैले पनि सिक्ने अवसर हो,‘विद्यार्थीलाई उर्जा थपिने काम गर्छु’ आचार्यले भने । निर्वाचनमा निर्वाचित भएपछि विद्यालयका प्रधानध्यापक मनोहरराज गोर्खाली, प्रबन्ध निर्देशक सनम बानियाँ लगाएतले बधाई ज्ञापन गरेका थिए । निर्वाचनमा कक्षा ४ देखि १० सम्मका ३२० विद्यार्थी सहभागी थिए । विद्यालयका मुख्य लिडरकै मातहतमा सदनका क्याप्टेन परिचालन हुनेछन् ।