मालिकाधुरीमा पुजाआजा गर्ने भक्तजनको भीड (फोटो फिचर)

म्याग्दीको प्रसिद्ध मालिका मन्दिरमा करिव ६ हजार भक्तजनले पूजाआजा गरेका छन् । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा शनिबार बैशाख पुर्णिमाका दिन विभिन्न पदमार्ग तथा सवारीसाधनको प्रयोग गरी सयौंको संख्यामा पुजाआजा गर्न भक्तजनहरु मन्दिरमा पुगेका थिए ।

विहानैदेखि लाइनमा बसेर भक्तजनले पूजा गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए। ‘यसबर्ष बिमतर्फबाट सडक सञ्जालको प्रयोग गरी आउनेको संख्या धेरै छ,‘अन्य रुटबाट समेत विगतको तुलनामा भक्तजन बढेका छन्’ पाईजाले भने ।

उनका अनुसार गतबर्षको तुलनामा भक्तजनको संख्या करिव २ हजारको हाराहारीमा बढेको अनुमान गरिएको बताए । जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला बागलुङ, बागलुङबाट समेत भक्तजन आएका थिए । यसबर्ष चितवन सहित अन्य जिल्लाबाट समेत भक्तजन मालिकामा आएर पूजा गरेको पाईजाको भनाई छ ।

जिल्ला बाहिरबाट आएका भक्तजनले राती १२ बजे नै पूजा गरेर गन्तब्यतर्फ गएकाले जिल्ला बाहिर समेत मालिकाको प्रचारप्रसार भइरहेको बताए । मन्दिरमा भक्तजनको चाप बढेपछि मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, वडा नं ६ का अध्यक्ष सन्तोष सुबेदी समेत मन्दिरमा पुगेर भक्तजनको समस्या तथा पूजा ब्यवस्थापनमा खटिएका थिए । मन्दिरमा पूजा गर्न अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगर समेत पुगेकी थिईन् । ‘भक्तजनलाई सहज हुने गरी पूर्वाधार विस्तारलाई प्राथमिकता दिन्छौ,‘सडक र पदमार्गलाई संगसंगै लैजाने योजना छ’ उनले भने ।

उनले बिमबाट मालिका मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई सहज हुने गरी सडक स्तरउन्नती गरिएको बताउँदै दरबाङको दुखु तथा गाउँपालिका भित्रका अन्य रुटको पदमार्गलाई समेत ब्यवस्थित गरिने, मन्दिर आसपासमा रेलिङ, भक्तजनलाई रात काट्न आवश्यक पर्ने सत्तल सहित अन्य पूर्वाधार, खानेपानीको समेत ब्यवस्था गरिने बताए । मालिकासँगै रघुगंगा गाउँपालिकाको समेत सिमानमा भएकाले रघुगंगा गाउँपालिकाले समेत मालिका मन्दिरलाई प्राथमिकता दिएको छ ।

कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पुराहुने भक्तजनको विश्वासले सयौको संख्यामा पुगेका भक्तजन मन्दिरमा जाने गरेको किसानी मावि धारापानी ताकमका शिक्षक विष्णु खत्रीले बताए । मन्दिर नजिक रहेको चुचुरोबाट म्याग्दीकाअधिकांस भुभागका साथै, पर्वत, बागलुङ र कास्कीको भूभाग समेत देखिन्छ । मन्दिरमा एकपटक भाकल गरेकाहरूले पुनःमन्दिरको दर्शन गर्न जानुपर्ने भनाईले पनि बालबालिका लिएर भक्तजन मन्दिरमा आउने गरेका छन् ।

अग्लो पहाडमा घना जंगलको बीचमा अवस्थित, आँखामा ठोकिने हिमश्रंखला, सुन्दर ग्रामिण बस्तीहरू र प्राकृतिक सौन्र्दयताले सजिएको मालिकाधुरी जिल्लाको धार्मिकस्थलको रुपमा समेत चिनिन्छ । मन्दिरमा दर्शन तथा बाली दिए मालिका,जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वासका साथ बि.श १९६६ सालदेखि नियमित पुजाआजा हुने गरेको मन्दिर बालबालिका देखी बृद्धबृद्धासम्म पुग्छन् ।

शैक्षिक, ब्यवसाय,बैदेशिक रोजगार तथा विभिन्न योजना सफल बनाउनुपूर्व मन्दिरमा दर्शन गर्न जाने यूवाहरुको संख्या अत्याधिक रहेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।विगतमा मन्दिरमा पुग्ने मार्ग निकै जोखिमपूर्ण भएपनि पछिल्ला केहीबर्ष यता पूर्वाधार विस्तार तथा पदमार्गलाई समेत ब्यवस्थित बनाइएको छ ।

करिव चार दशक अगाडीसम्म मालिका धुरीमा रहेको एक ढुङ्गामा पुजा गर्दै आइरहेकोमा दर्शनार्थीको चाप बढ्दै गएपछि साविकको दरबाङ गाविस–५ निबासी तिर्थबहादुर रोकाको परिवारले २०२५ सालमा सामान्य ढुङ्गाको मन्दिर निर्माण गरेका थिए । त्यस्तै मन्दिरको महिमा बढदै जान थालेपछि उनैको परिवारले २०३७, २०५७ र २०६४ सालमा पटकपटक पुननिर्माण परि पछिल्लो समय पलास्टर गरि सिमेण्टेड मन्दिर निर्माण गरेका छन् । यसैबीच म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचाय, द्धितिय उपाध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष अमित बानियाँ, कासस ठाकुरप्रसाद शर्मा सहितको टोली समेत पुगेको थियो ।