गुठी जग्गा संरणमा चासो,अतिक्रमण भएको जग्गा फिर्ता

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित दुर्गा भवानी गुठीको अतिक्रमण भएको जग्गा फिर्ता भएको छ । खड्गभवानी गुठी व्यवस्थापन समिति र वडा कार्यालयको पहलमा जेठ १ गते बुधवार नापी लगेर अतिक्रमण भएको जग्गा फिर्ता गरिएको हो ।

तत्कालिन पर्वतराज्य अन्तर्गतको शक्तिशाली थुम (कमाइ खानु भनेर विर्तामा दिएको राज्य) ज्यामरुककोटका अन्तिम राजा भर्तिवम मल्लको अन्त्यपछि खड्गभवानी कोतको नाममा रहेको बेनपा २ बगरफाँटको १२ रोपनी ६ आना क्षेत्रफल जग्गामध्ये करिव ३ रोपनी जग्गा अतिक्रमण भएको थियो । अतिक्रमण भएको जग्गा नापी गरेर अतिक्रमण मुक्त गराएपछि त्यस जग्गाको संरक्षणको जिम्मा गुठीयारहरुलाई दिइएको छ ।

बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापा र खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेको पहलमा अक्रिमण भएको जग्गाा फिर्ता गरिएको हो ।खड्ग भवानी कोतको नाममा जग्गा धनी प्रमाण पूर्जा रहेको करिव ३३ रोपनी जग्गा मध्ये २० रोपनी जग्गा ज्यामरुककोटको भकुण्डे क्षेत्रमा र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङदीमा रहेको खड्ग भवानी कोत पूजा एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

सापकोटा थरका ब्राह्मणहरुले पुस्तौदेखि भोगचलन गर्दै आएको सो गुठी जग्गा पछिल्लो समयमा आएर अतिक्रमण,पहिरो र बाटोका कारण आफूहरुलाई मर्का परेको गुठीयारहरुले गुनासो गर्दै आएका थिए ।खड्गभवानी कोतमा सापकोटा थरका ब्राह्मणहरुनै पुजारी हुनुपर्ने मान्यता अनुसार पुस्तौंदेखि सो कोतमा दशैंका दश दिनसम्म सापकोटा ब्राह्मणहरुबाट पुजाआजा हुने गर्छ । त्यसका अतिरिक्त चैतेदशैं, नागपञ्चमी, साउने संक्रान्ति लगाएतका पर्वहरुमा पनि सापकोटा गुठीयारहरुले पूजाआजा गर्दै आएका छन् ।

पुस्तौंदेखि खड्गभवानी कोतमा पूजाआजा गर्दै आएका ब्राह्मणका अतिरिक्त घर्ती र थापा थरका क्षेत्रीहरुले पनि गुठी जग्गाको भोगचलन गर्दै आएका छन् । गुठीयारहरुले गुठी जग्गाको भोगचलन गरेवापत आआफ्नो जिम्मेवारीको काम गर्नुका साथै कोत पूजा तथा गुठी व्यवस्थापन समितिलाई निर्धारित शुल्क समेत बुझाउनु पर्ने गुठीयार कृष्णवहादुर घर्तीको भनाइ रहेको छ ।चार–पाँच पुस्तादेखि भोगचलन गर्दै आएपनि गुठीयारहरुलाई जग्गाको कुनै पनि कागजात दिइएको छैन् ।