म्याग्दीमा हरेक महिनाको पहिलो सोमबार बजार अनुगमन गरिने

चाडपर्व र सरकारी कर्मचारीको मुडको भरमा गरिने बजार अनुगमनलाई जिल्लाका सबै स्थानीय तहमा मासिक रूपमा अनुगमन गरिने भएको छ । जिल्लामा कार्यरत सरकारी कर्मचारी र अनुगमन गर्ने जिम्मेबारी लिएर प्रदेश तथा संघीय सरकारबाट आउने कर्मचारीले नाममात्रको अनुगमन गर्ने चौतर्फी गुनासो आउने गरेको अवस्थामा जिल्ला प्रशासन कार्याालयले जिल्लाका सबै स्थानीय तहमा प्रत्येक महिनाको पहिलो सोमबार एकसाथ अनुगमन गर्ने गरी कार्यतालिका बनाएको छ ।

नियमित अनुगमनको अभावमा बजारमा समस्या देखिएपछि बजार अनुगमनलाई आक्रामक रुपमा अघि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।‘अब हरेक महिना नियमित अनुगमन हुन्छ,‘धेरै गुनासो आउने क्षेत्रमा नियमित बाहेक छड्के अनुगमनलाई समेत प्राथमिकता दिन्छौ’ प्रजिअ अधिकारीले भने ।
उनका अनुसार स्थानीय तहसँग सहकार्य गरी अनुगमन गरिने छ ।

अनुगमन टोलीमा बेनी नगरपालिका प्रजिअ अधिकारी, मंगला गाउँपालिका घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख सरिता गौतम, मालिका गाउँपालिका संयोजक जिल्ला कारागार प्रमुख राजेन्द्र शर्मा, धवलागिरी गाउँपालिका संयोजक कोष तथा लेखा नियन्त्रक चन्दशेखर सापकोटा, रघुगंगा गाउँपालिका संयोजक स्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद आचार्य र अन्नपूर्ण गाउँपालिका संयोजक प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी रहेका छन् ।

अनुगमन टोलीको संयोजकसँगै उपभोक्ता समिति, सञ्चारकर्मी लगाएतको उपस्थिती रहने जनाइएको छ ।त्यस्तै विभिन्न कार्यालयसँग सम्बन्धित प्रतिनिधिले म्याद नाघेका बस्तुहरु जफत तथा कानुनी प्रक्रियाका बारेमा जानकारी गराउने बताइएको छ ।जिल्लामा पहिलोपटक ब्यवस्थित अनुगमनलाई क्यालेन्डर नै बनाएर सुरु गरिएको अनुगमनमा विगतका अनुगमनका सचेत बनाइएका ब्यापारीलाई समेत निगरानी गरिने बताए ।

जिल्लामा खाद्यान्न पसलबाट म्याद नाघेका खाद्यान्न, पेय पदार्थ, मासु पसल,औषधी पसलहरूमा प्रक्रिया पुरा नगरी डाक्टरको नाम प्रचार गरेर बिरामी जाँच्ने गरेको गुनासोलाई अनुगमनले नियमन गर्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्यले बताए । उनले अनुगनममा देखिएका समस्यालाई बैठकमार्फत अर्को महिना गरिने अनुगमनमा समाधान गरिने बताए ।