फेसबुके साथीको ‘सरप्राइज गिफ्ट’– ३० हजार पाउण्डको लोभमा २५ लाख झ्वाम !

तीन महिना अघि दुबई स्थित एक होटलमा कार्यरत गोरखाका श्यामबहादुर आले (नाम परिवर्तन)लाई फेसबुकमा ‘रोज लण्डन’ नामबाट फ्रेण्ड रिक्वेस्ट आयो । फेसबुक फ्रोफाइलमा युवतीको तस्वीर थियो । केही छिन्मै उनीहरु साथी भए । कुराकानी सुरु भएको केही दिनमा नै उनीहरु राम्रो साथी बन्न पुगे ।

एका बिहानै रोजले श्यामको लागि उपहार पठाउन लागेको म्यासेज आयो । श्यामले पनि सहजै पत्ताए र नेपाल फर्किन लागेकाले नेपालकै ठेगाना दिए । त्यसको ३ दिनपछि भारतको नम्बरबाट रोजले सामान पठाएको भन्दै फोन आयो । भारतको भन्सारमा सामान रोकिएकाले भन्सार शुल्क तिर्न भारु ३० हजार पठाईदिनु पर्ने भनेपछि श्यामले एकै छिनमा पैसा पठाइदिए ।

अर्को दिन पुनः सोही नम्बरबाट रोजले ३० हजार पाउण्ड पठाएकाले भारुमा सटही गर्नुपर्ने भन्दै भारु १ लाख ५० हजार पठाउन भन्यो । नेपालबाट पैसा पठाउन नमिल्ने भएपछि उनले दुबईमा रहेका आफ्नो साथीलाई ऋण हालिदिन भन्दै उतैबाट पैसा पठाइदिन भने ।  उनलाई भारतीय रिर्जभ बैंकमा पैसा पुगेको भन्दै रिर्जभ बैकका तस्वीरहरु आए । यता श्याम ३० हजार पाउण्डलाई नेपाली मुल्यमा हिसाबकिताब गर्दै थिए । त्यसको केही दिनमा पुनः पैसा अपुग भएको भन्दै २ लाख ५० हजार भारु पठाइदिनु पर्ने म्यासेज आयो ।

उनलाई पैसा पठाउन बारम्बार फोन म्यासेज आइरह्यो । पुनः २ लाख ५० हजार भारु दुबईमा रहेको साथीलाई हालिदिन लगाए । अझै पनि उनको उपहार नेपाल आएन । बरु फेरी रिर्जभ बैंकले बैंकमा ग्यारेण्टी राख्नु पर्ने भन्दै भारु ३ लाख ५० हजार, अर्को पटक भारु ६ लाख ५० हजार पठाउन म्यासेज आइरह्यो र श्यामले पैसा नेपाली करिब २५ लाख पैसा पठाए । ६ बर्ष दुवई बसेर कमाएको पैसा मात्रै होइन आफन्तसँग करिब २० लाख ऋण गरेर पठाएका थिए ।

उनलाई श्रीमतीले यसरी ठगीएको समाचार आइरहेकाले सचेत हुन नभनेकी पनि होइन तर श्यामलाई श्रीमतीको भन्दा बढी विश्वास फेसबुककी साथी रोजको थियो । करिब तीन महिनासम्म पनि उनको हातमा उपहार परेन बरु अझै पनि भारतीय रिजर्भ बैंकमा पैसा अड्किएको र यसका लागि नेपाल सरकार, भारत सरकार, युएई सरकार र बेलायत सरकारबाट स्विकृत पत्र बनाउनु पर्ने भएकाले थप १० लाख भारु पठाइदिनु पर्ने भन्दै फोन म्यासेज आइरह्यो ।

साथी रोजसँग कुरा गर्दा मैले पठाएको उपहार जुनकुनै हालत लिनै पर्छ भन्ने म्यासेज आउँथ्यो । श्यामले रोजकै विश्वासमा १० लाख रुपैयाँ पैसा पठाउन ऋण खोज्दै थिए । २ महिना अघि ऋण लिएका आफन्त साथीभाईले फिर्ता माग्न थालिसकेका थिए । तर रोजले पठाएको उपहार हात पर्ने छाँटकाटै थिएन ।

बल्ल श्यामलाई श्रीमतीले भनेको कुरा याद भयो । फेसबुकमा बनेकी साथी रोजको सरप्राइज उपहार पाउनकै लागि उनले करिब २५ लाख विदेशीलाई पठाइसकेका थिए । अहिले उनलाई उपहार र पैसाको लागि फोन आउने ७ ओटा नम्बर बन्द छन् । सरप्राइज उपहार पठाउने उनकी साथी रोज फेसबुकमा म्यासेन्जरमा भेटिन्नन् ।

दुबई र मेलेसियामा १० बर्ष कमाएर नेपाल फर्किएका उनी अहिले काठमाडौंमा कोठा भाडा तिर्न नसक्ने अवस्थामा छन् । मिनेट–मिनेटमा साउको फोन आउँछन् । उजुरी गर्न केन्द्रीय अनुसन्धान व्युरो सिआइबी नपुगेका होइनन् तर नेपालबाट कुनै पनि कारोबार भएको नदेखिएपछि प्रकृया अघि बढेन ।

परिवारसँगै बसेर केही गर्ने सोचेर नेपाल आएका श्याम २५ लाख ऋणको भारी बोकेर फेरी विदेश जाने बाहेक विकल्प भेटेका छैनन् । श्याम एक प्रतिनिधि पात्र मात्रै हुन, फेसबुक, भाइबर, इमो, ह्वाट्सएपबाट साथी बनेर चिठ्ठा परेको, उपहार पठाएको भन्दै यसरी नै सयाैं नेपालीको करोडाैं पैसा विदेशी ठगको खल्तीमा पुग्ने गरेको छ । news24nepal.tv