चनाचटपटे बेचेर मासिक ७५ हजार कमाउँछन् ७० वर्षिय ‘चटपटे बाजे’

धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । सक्रिय जीवन विताउन चाहदैनन् । ६० वर्ष काटेपछि अब मैले के गर्न सक्छु र ? भन्ने हिनताबोधले ग्रसित भएर छोराछोरी र परिवारको भर पर्छन् । तर म्याग्दीका ७० वर्षिय एक वृद्धले छोराछोरी र आफन्तहरुको कुनै आस नगरी तीन हजारको लगानीबाट शुरु गरेको व्यावसायले अहिले मासिक रु ७५ हजार भन्दा बढि कमाएर दुनियाँलाई दङ्ग पारिदिएका छन् ।

विहान उज्यालो भएदेखि राती १० बजेसम्म चनाचटपटे बनाउन भ्याइ नभ्याई हुन्छ म्याग्दीका ७० वर्षिय लालबहादुर पुर्जा र उहाँकी श्रीमती ६५ वर्षिया लिलामति पुर्जालाई । बेनी बजारको मंगलाघाटमा २०६७ सालदेखि चनाचटेपटेको व्यावसाय शुरु गरेका पुर्जा दम्पतिले चनाचटपटेसंगै कुखुराको टाउको र खुट्टा फ्राइ गरेर विक्री गर्दै आउनुभएको छ । अमिलो,पिरो र स्वादिलो चनाचटपटेसंगै कुखुराको टाउको र खुट्टाको परिकार बेचेर नै मासिक रुपमा रु ७५ हजार भन्दा बढी कमाइ हुने बताउने पुर्जा दम्पत्तिको संसार अनि सम्पत्ति दुवै बनेको छ चटपटे व्यावसाय ।

‘मैले जिन्दगीमा खानुसम्मको हण्डर खाएँ,केही सीप नलागेर आत्महत्या गर्ने सम्मको विचार गरें’ आफ्नो अतितलाई सम्झदै सफलताको कुटुरो फुकाउन शुरु गर्नुभयो हसिँँला र रसिला पुर्जाले । आफ्नो विगतको विरसिला कुराहरु सुनाइरहँदा पुर्जाकी श्रीमती लिलामति आडैमा बसेर आँसु पुछिरहनुभएको थियो ।

१७ वर्षको उमेरमा आफ्नो गाउँ म्याग्दीको कुहूँ थाइबाङबाट गरिबीका कारण लखेटिएर भारतका विभिन्न शहरहरुमा चौकीदारी र मजदुरी गर्दा पनि परिवार पाल्न नसकेपछि आत्महत्या गर्ने मनस्थितिमा पुग्नुभएका पुर्जाको जीवन अहिले रहरलाग्दो बनेको छ । परिवार पाल्न पुग्ने कमाइ नभएपछि नेपाल फर्केका पुर्जाले बेनी बजारकै एउटा निजी विद्यालयमा गेटपालेको काम गर्दागर्दै त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेपछि शुरु गर्नुभएको हो चनाचटपटे व्यावसाय ।

‘मैले वोर्डिङका संचालकलाई ५ सय रुपैयाँ तलब बढाइदिन भनें ’ चनाचटपटे व्यावसाय शुरु गर्दाका दिनहरु सम्झदै पुर्जाले भन्नुभयो ‘उहाँ (बोर्डिङ संचालक) ले नबढाइदिए पछि त्यसैको झोकमा आफन्तसंग ३ हजार रुपैयाँ सापटी लिएर यो व्यावसाय शुरु गरेको हुँ ।’ यसरी ३ हजार रुपैयाँबाट शुरु गरेको उहाँको व्यावसायले अहिले मासिक रु ७५ हजार भन्दा बढि कमाइ गर्न सफल हुनुभएको छ पुर्जा। पुर्जालाई उहाँका ग्राहाकहरुले ‘चटपटे बाजे’ भनेर सम्बोधन गर्छन् ।

हसिँला,फरासिला र रसिला पुर्जाले आफ्ना ग्राहाकहरुलाई स्वादिलो चनाचट्पटे मात्र खुवाउनुहुन्न,रसिला कुराहरु गरेर पेटमिचिमिचि हसाउँनु पनि हुन्छ ।‘बाजे नमस्कार’ भन्दै पसलमा आउने ग्राहाकहरुलाई नमस्कार फर्काउदै चनाचटपटे बनाउन व्यस्त हुनुहुन्छ पुर्जा । उहाँकी श्रीमती लिलामति कुखुराको टाउको र खुट्टा फ्राइ गर्न थाल्नुहुन्छ ।

ग्राहाकलाई देख्ने वित्तिकै उनीहरुलाई के चाहिन्छ भन्ने कुरा बुझिसक्के पुर्जाले फटाफट चटपटे बनाएर प्लेटमा राखिदिदै पैसा उठाउन थाल्नु हुन्छ । मुख र हात संगसंगै चलाउने पुर्जाका कुरा सुन्दै हास्दै ग्राहाकहरुले खानथाल्छन् स्वादिलो चटपटे र कुखुराको परिकार ।म्ांगलाघाटमा एउटा घरको सटर भाडामा लिएर पुर्जाले चना चटपटेको पसल चलाउनुभएको छ।

मासिक रुपमा रु ३ हजार भाडा तिरेर संचालन गरेको सो पसलमा विहानदेखि राती १० बजेसम्म ग्राहाकहरुको भीड लाग्छ। वस्ने ठाउँ भरिएपछि कतिपय ग्राहाकहरुले उठीउठी नै खाने गर्छन भने आधा घण्टासम्म पालो कुर्नुपर्छ ।चनाचटपटे किन्नका लागि आधा घण्टाभन्दा बढि प्रतिक्षा गरिरहेकी जमुना श्रीषले यहाँको जत्तिको स्वादिलो अरु कुनै ठाउँको पनि नहुने भएकाले पालो कुरेर बसेको बताउनुभयो ।

पुर्जाले आलु,प्याज,धनियाँ, कागती,खुर्जानी,भुजा,पेस्ता र बदाम मिलाएर चटपटे बनाउने गर्नुहुन्छ । अरु ठाउँको भन्दा बेग्लै स्वाद र धेरै पनि पाइने भएकोले यहाँ दिनुहँ ग्राहाकहरुको भीड लाग्ने स्थानीय धनु वानियाँले बताउनुभयो ।पुर्जाले रु २० देखि १ सय ५० सम्मको प्रतिप्लेट चटपटे बेच्नु हुन्छ । सामान्य चटपटे प्रतिप्लेट रु २० मा पाइन्छ भने कुखुराको खुट्टा र टाउको संगैको चटपटेलाई १ सय ५० रुपैयाँ लिनुहुन्छ। १० वर्ष अघि बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाका पूर्जा यो १० वर्षको अवधिमा चनाचटपटे बेचेर नै लाखौं सम्पत्तिको मालिक बन्नु भएको छ ।

४ तोला सुनका औंठी र सिक्री झल्काउँदै फटापट चटपटे बनाउने पुर्जाको कमाइ देखेर कतिपय मानिसहरु हेरको हे¥यौ हुने गर्छन् । बेनीका वैंक तथा वित्तिय संस्थाहरुमा वचत गर्नुका साथै सारो गाह्रो परेकाहरुलाई आर्थिक सहयोग समेत गर्दैै आउनुभएको छ । तीन छोरा र दुई छोरीका बुबा पुर्जाले कहिल्यै पनि छोराछोरीको आश नगरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हातखुट्टा चलुन्जेलसम्म यही व्यावसाय गर्छु,मलाई यसैमा मस्ती छ ।’