दिदीबहिनी मिली ममीको एटीएम कार्ड चोरेर पैसा निकाल्न पाएको क्षण सम्झँदा देवी मगरलाई अहिले पनि हाँसो उठ्छ। उनी सम्झन्छिन्, ‘साथीहरू मिलेर कताकता घुम्न गयौं। रेस्टुरेन्ट छिरेर खानेकुरा मगायौं। बहिनी र मेरा गरी १४ जना साथी मिलेर ममीको ५५ हजार एकै दिनमा उडाएका थियौं। बहुत रमाइलो लागेको थियो त्यो दिन।

देवी भर्खरै मात्रै ब्युटी प्याजेन्टमा सहभागी भएकी हुन्। उनले पहिलो प्रयासमै मिस नेसनल आइकन– २०१९ को टाइटल हात पारिन्। टाइटलसँगै उनले २६ लाख मूल्यको ड्याट्सन कार जितेकी छन्। मोर्गन कलेज बसुन्धरामा बीबीएस तेस्रो वर्षमा अध्ययनरत मगरको जन्मथलो म्याग्दीको बेनी हो। हाल उनी सामाखुसीमा बस्छिन्।

सानैदेखि उनी टीभीमा फेसन सो तथा मोडलिङका कार्यक्रम हेरेर समय बिताउँथिन्। मिस नेपालका विजेताले ताज पहिरिएको देख्दा अत्यन्तै खुसी लाग्थ्यो उनलाई। आफूलाई पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो ठाउँमा पुग्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। उनलाई भविष्यमा चर्चित मोडल नै हुन्छु भन्ने त छैन तर बिजनेससँगै समाजसेवा गर्ने मन चाहिँ छ।

केही सिक्न र रहर पूरा गर्न देवीले मिस नेसनल आइकनमा भाग लिएकी हुन्। कार्यक्रममा विजेता भएसँगै राम्रो कथा र भूमिका भएको फिल्ममा अवसर पाए अभिनय गर्ने रहर छ। उनी नृत्यमा पनि अब्बल छिन्। स्कुल तथा कलेजमा हुने सांस्कृतिक कार्यक्रममा हरेक पटक पुरस्कार प्राप्त गर्थिन्। किताब पढ्न सोखिन देवीको ब्यागमा प्रायः कुनै न कुनै पुस्तक भेटिन्छ। विशेषत मगर समुदायको संस्कृति र इतिहासमा उनको रुचि छ। व्यापारिक परिवारमा जन्मेकी देवीले परिवारमा त्यस्तो कडा अनुशासनमा भने हुर्कनु परेन। मन लागेको गर्न स्वतन्त्र थिइन् उनी। स्कुल पढ्ने बेलामा क्लासमेटसँग प्रेममा परेकी उनी प्रेमले खुसी दिने बताउँछिन्। स्कुल छाडेर विभिन्न ठाउँमा घुम्न जाने, घण्टैां गफ गरेर बिताउँथे उनीहरू। उनी मुस्कुराउँदै आफ्नो प्रेम अनुभव सुनाउँदै छिन्। ‘साँच्ची प्रेममा पर्नु निकै सुन्दर अनुभूति हुने रहेछ। ऊबाहेक अरूका बारे सोच्ने फुर्सद नै नहुने। आफू त उसकै लागि जन्मिएजस्तो। आमाबुवाको मतलव नहुने।

भागेर उसँगै जाउँ जस्तो।’ उनको यो प्रेम अनुभवले टिन एजमा हुने आकर्षणलाई सजिलै बुझ्न सकिन्छ। देवीको यो क्लोज सम्बन्ध भने धेरै समय टिक्न सकेन। क्लासका अरूसँग बोले पनि झगडा पर्ने। उसले भनेको हरचिज मान्नुपर्ने। कहिलेकाहीँ त सम्भव हुन्छ तर हरेक दिन कसरी पुगोस्। सायद धेरै खाएपछि चिनी पनि तीतो हुन्छ भन्थे। यस्तै भयो पहिलो प्रेम पनि। सहमतिमै छुट्टिए उनीहरू।

प्रेमसम्बन्ध टुटेपछि उनी बेनीबाट काठमाडैाँ आइन्। नृत्यको कक्षा तथा अन्य व्यावहारिक सीप सिक्न आफूलाई व्यस्त राखिन्। अहिलेका हरेक युवायुवती स्वतन्त्र हुन चाहने बताउँदै देवीले स्वतन्त्रताको बाधकप्रेमी नै भए पनि सहन नसकिने सुनाइन्। जिम्मेवारीसहितको स्वतन्त्रताले काम गर्न उत्प्रेरणा दिने उनको अनुभव छ। Annapurnapost.com

Leave a Reply