मोना कतारको शुभकामना साँझमा साढे ६ लाख बचत

मोना कतारले नयाँ बर्षको अवसरमा आयोजित चौथो सांस्कृति कार्यक्रमको आयब्यय सार्वजनिक गरेको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाले १० लाखको बहुउद्देश्यीय अक्षय कोष स्थापनार्थ आयोजित कार्यक्रमबाट कुल ३७ हजार ९२१ रियाल आम्दानी र १५ हजार ७ सय ६७ खर्च गर्दै २२ हजार १ सय ५४ कतारी रियाल बचन गर्न सफल भएको अध्यक्ष तिलु शर्मा पौडेलले बताए ।

उनका अनुसार नयाँ कार्यसमितिले लक्ष्य अनुसार नै एकबर्षभित्र अक्षय कोषका लागि आवश्यक पर्ने थप ४ लाख जुटाउने बताए । ‘कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सहयोग गर्नेप्रति आभारी छौ,‘कतारमा रहेका म्याग्देलीलाई मोनाका अभियानमा जोडिन समेत अपिल गछौ’ शर्माले भने ।

उनले रोजगारीको सिलसिलामा कतारमा रहेका म्याग्देलीहरुलाई मोनाको सञ्जालमा आवद्ध गराएर संस्थागत गतिविधिका साथै समस्या समाधानमा समेत पहल गर्ने बताए । सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको समेत उपस्थिती रहेकाले पनि म्याग्देली सहित नेपालीको सहभागिता बाख्लो रहेको थियो । कार्यक्रम सम्पन्न भएकै दिन आयब्यय सार्वजनिक गर्ने प्रतिबद्धता अनुसार गरिएको कार्यक्रमलाई त्यहाँ रहेका अन्य नेपाली सघसंस्थाले समेत खुसी प्रकट गरेका छन् ।

त्यस्तै एउटा जिल्लाका मात्रै आवद्ध रहेको संस्थाको कार्यक्रममै ४ लाख बचत हुनुलाई आश्चर्य रुपमा लिइएको छ । बचत रकमलाई खाता खोलेर जम्मा गरिने मोना कतारले जनाएको छ। मोना कतारको तेश्रो मासिक तथा नियमीत बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा मुन्तजामा सम्पन्न भएको थियो । बैठकमा संस्थाका पूर्व पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।