गरिव र विपन्नको उपचारमा २ लाख सहयोग

एक दम्पत्तीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका म्याग्दीबासीको उपचारमा आफ्नो खर्च कटाएर २ लाख आर्थिक सहयोग गरेका छन् । पुख्यौली घर रघुगंगा गाउँपालिका–७ चिमखोला भई हाल बेनी नगरपालिका–८ पिपलचोकमा बस्ने भुलमायाँ तिलिजा ‘भुनु’ र राम बहादुर तिलिजाले जिल्लाकै परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई उपचारको अभावकै कारण मृत्युबरण गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा उक्त सहयोग गरेका हुन् ।

महिला शसक्तीकरण तथा सामाजिक अभियानमा सक्रिय भुनुले ब्यक्तिगत खर्चबाट बचत गरी जम्मा गरेको आर्थिक जिल्लामा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा खर्च गर्ने गरी सहयोग गरेको बताईन् ।‘यो संस्थामार्फत धेरै काम भएका छन्,‘मृत्युको मुखमा पुगेकाले नयाँ जीवन पाएका छन्’ तिलिजाले भनिन् ।कालिगण्डकी आमा समुह सहित दर्जनभन्दा बढी संघसंस्थामा सक्रिय रहेकी तिलिजाले भविस्यमा पनि सहयोग गर्ने बताईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले सामान्य र जटिल उपचारमा आर्थिक समस्या भएका विरामीलाई कोषले अभियान सञ्चालन गर्ने गरेको बताए । उनका अनुसार कोषले १ करोड ५० लाख देखि २ करोड सम्म अक्षय कोषको स्थापना गरी ब्याजबाट उपचारमा सहयोग गर्ने अभियान सञ्चालन गरेको बताए। ब्यक्तिगत रुपमा २ लाख सहयोग गर्नेलाई संरक्षक सदस्यता समेत प्रदान गरिने बताए ।

उनले विरामीको आफ्नै नाममा खाता सञ्चालन गरी उपचारमा अभियानबाट अपुग रकमलाई कोषले ब्याजबाट खर्च गर्ने गरेको छ । उनले उपचारमा हालसम्म न्यूनतम ५ हजार देखी ४० लाखसम्म खर्च भएको बताए । बेनी नगरपालिका–४, सिंगाकी ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको थियो । कोषले हालसम्म १ सय १६ जनालाई आर्थिक सहयोग तथा उपचारको अभियान सञ्चालन गरेको छ ।