ढोरपाटनमा ३ झारल र ६ नाउरको सिकार

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा अहिले दोस्रो शिकार याम चलिरहेको छ । यो याममा विश्वका साहसी सिकारीहरुले शिकार खेल्न पाउँछन् । ढोरपाटन शिकार आरक्षले दिएको जानकारी अनुसार यो याममा शिकारीहरुले छ नाउर र तीन झारलको सिकार गरेका छन्। १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ नाउर र तीन झारलको मात्रै सिकार गर्न सफल भएका हुन् ।

विश्वका साहसिक सिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा लिदै आएको ढोरपाटन शिकार आरक्षमा सिकारका लागि सिकार कम्पनीले यो याममा एउटा नाउरको रु १३ लाख एक हजारदेखि रू १३ लाख ५१ हजारसम्म र एउटा झारलको रु १३ लाख एक हजारदेखि रू १३ लाख ५० हजारसम्म शुल्क तिरेका छन् ।

शुल्क राजश्व विभागलाई बुझाए पछि मात्र यहाँ शिकार खेल्न पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट छ कम्पनीले सिकारी पठाउने जिम्मा पाएअनुसार कम्पनीले विभागसँग सम्झौता गरी सिकारीलाई सिकार गर्ने अनुमति दिएको थियो ।सिकार आरक्ष कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार यहाँ सिकारका लागि रसिया,अमेरिका,स्पेनलगायत मुलुकका प्रसिद्ध सिकारी आउने गरेका छन् ।

सूचना अधिकारी रोकायका अनुसार यो याममा हिमालयन सफारीले अनुमति पाएको दुई नाउरमध्ये एक नाउरको सिकार हुन सकेन भने एक सिकारी अनुपस्थिति भए । यस्तै ‘ट्रयाक एण्ड ट्रेडले अनुमति पाएको दुई नाउर र एक झारल सिकार गरेको, ‘ग्लोबल सफारी’ले अनुमति पाएको एक नाउर सिकार गरेको, ‘नेपाल वाइल्ड लाइफ सफारी’ले अनुमति पाएको दुई नाउर र एक झारल सिकार गरेको छ ।

यस्तै ‘नेपाल वाइल्ड लाइफ आटफिटस’ले अनुमति पाएको दुई नाउर र एक झारलमध्ये एउटा नाउर र एउटा झारल सिकार गर्न सकेन भने एक नाउर सिकारी अनुपस्थितिका कारण सिकार हुन सकेन । त्यसैगरी ‘नेपाल वाइल्ड लाइफ एडभेञ्चर’ले अनुमति पाएको एक नाउर र एक झारल सिकार गरेकोे सिकार आरक्षले जनाएको छ । हरेक आर्थिक वर्ष आश्विन महीनादेखि मंसिर पहिलो हप्तासम्म आरक्षमा पहिलो यामको सिकार गरिन्छ भने फागुन महीनादेखि वैशाख पहिलो हप्तासम्म दोस्रो यामको सिकार गरिन्छ ।