एकल महिलालाई सीपमुलक तालिममा जोड

एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएपनि जीवनयापन सहज बनाउने कार्यक्रमलाई प्राथमिकत दिनुपर्नेमा जोड दिइएको छ । तीनै तहका सरकारले एकल महिला लक्षित कार्यक्रमलाई कम प्राथमिकता दिएको गुनासो गदैं एकल महिलाले समाजमा स्थापित हुने गरी आर्थिक, सामाजिक आत्मनिर्भरता खोजेको बताइएको थियो ।

एकल महिला तथा बालबालिका शसक्तिकरण संस्थाको आयोजनामा बिहिबार बेनीमा आयोजित महिला अधिकार तथा सेवानी संहिता, फौजदारी संहिता ऐन सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गदैं वडा अध्यक्ष रामकृष्ण बराईलीले वडास्तरमा रहेका एकल महिलालाई क्षमता विकाससँगै ब्यवसायीक तालिममा प्राथमिकता दिने बताए । उनले शिक्षा, स्वास्थ्य, यातायात सहित सार्वजनिक क्षेत्रमा एकल महिलालाई छुटको प्रभावकारी कार्यान्वयनमा समेत जनप्रतिनिधिले चासो ब्यक्त गरेको बताए ।

जिल्ला समन्वय समितिकी सदस्य खिमा पूर्जाले एकल महिलाका समस्यालाई समाधान गर्ने जिम्मेबारी स्थानीय तहको समेत भएकाले हरेक बर्ष बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने बताए । सोही अवसरमा एकल महिला तथा बालबालिका शसक्तिकरण संस्थाकी अध्यक्ष बिमला गौचनले एकल महिलाहरूको सिकेको सीपलाई ब्यवहारमा प्रयोग गर्ने भएकाले सीप उपयोग गरेर आयआर्जन गरी स्वावलम्बी बनाउने उद्देश्यमा संस्थाले विभिन्न कार्यक्रम गर्ने गरेको बताईन् । उनले हालसम्म विनियोजित बजेट न्यून भएको बताए । यसैबीच सोही अवसरमा वडास्तरीय एकल महिला तथा बालबालिका शसक्तिकरण उपसमिति गठन गरिएको छ।

समितिको अध्यक्षमा नरदेवी विश्वकर्मा, उपाध्यक्ष शान्ति भट्रचन, सचिव मनकुमारी नेपाली, सहसचिव संगिता सुबेदी, कोषाध्यक्ष मैती थापा रहेकी छन् । त्यस्तै सदस्यहरुमा दिलकुमारी गौचन,तोरन्ती पुन, मनकुमारी गौचन र पार्वती श्रेष्ठ रहेका छन्। कार्यक्रमा वडा सदस्य भिमकुमारी विक लगाएत एकल महिलाको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी शुभचिन्तक मनकुमारी विक र स्वागत देवी केसीले गरेकी थिईन् । तालिमको सहजीकरण मुक्ति दुंगानाले गरेका थिए ।