ठाडाखानीमा नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा समुदायलाई हस्तान्तरण (फोटोफिचर)

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ । चौथो गोरखा भूकम्प स्मृति कार्यक्रमको सन्दर्भमा नवनिर्मित विद्यालयको २ कोठे पक्की भवनको उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार म्याग्दीको आयोजनामा एक समारोहबीच विद्यालय भवनको उद्घाटन गर्नुका साथै समुदायलाई हस्तान्तरण गरिएको छ ।

उक्त भवन निर्माणका लागि प्राधिकरणको जिल्ला कार्यान्वयन इकाइले कन्टेनजेन्सीबाहेक २० लाख १६ हजार पाँचसय ३२ रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले विद्यालयलाई आवश्यक पक्की भवन बनाइएको बताउँदै अब योग्य, सक्षम र दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापनका लागि जिल्ला समन्वय समिति र प्रदेश सरकारमा पहल भैरहेको बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नागरिकको सुरक्षालगायत आवश्यक सेवासुविधा प्रदान गर्न सरकार तयार रहेको बताउँदै गाउँगाउँमा लगाइने मेला महोत्सवलाई नियमन गर्न मापदण्ड बनाइएको हुँदा त्यसको पूर्णरुपमा कार्यान्वयन गरिने बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार म्याग्दीका प्रमुख शिवराम गेलालले विनाशकारी भूकम्पमा परेर म्याग्दी जिल्लामा कुल ९७ ओटा विद्यालयहरु प्रभावित बनेको बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, वडा अध्यक्ष मनकुमार शेरपुञ्जा र सदस्य टेकजित छन्त्यालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिममाया छन्त्यालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गमबहादुर छन्त्यालको अध्यक्षता, शिक्षक हिरादेवी छन्त्यालको स्वागत र स्थानीय युवा मन छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो । २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ७ जना शिक्षक÷कर्मचारी कार्यरत रहेका छन् । कक्षा १ देखि ८ सम्म अध्ययन हुँदै आइरहेको विद्यालयमा करिब १ सयजना विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।