बँदेललाई थापेको धरापमा मान्छे परेपछि…

प्रहीले रुपन्देहीको तिलोत्तमा-११ बाट गाडिएको अवस्थामा एक व्यक्तिको शव बरामद गरेको छ । बरादम गरिएको शव  तिलोत्तमा-११ भूपू सैनिक टोलका मिनबहादुर गौतमको रहेको प्रहरीले जनाएको छ ।स्थानीय पाँच युवाले वस्तीमा बँदेलले बाली खाएर सखाप पार्न थालेपछि थापेकाे धरापमा गाैतम परेका हुन् । युवाहरुले वैशाख १ गते राती तिलोत्तमा र देवदह नगरपालिकाको सीमाना छुटयाउने रोहणी खोलामा राति ११ बजे विद्युतीय धराप थापेर नजिकैको एउटा रुखमुनि सुतेका थिए ।

भोलिपल्ट बिहान चार बजेको समयमा गौतम सोही बाटो देवदहबाट घर आउँदै गर्दा विद्युतीय धरापमा परेका हुन् । धरापमा परेर गौतमको मृत्यु भयो । उनीसँगै बँदेल पनि पर्‍यो ।त्यसपछि तिलोत्तमा-११ का चन्द्रबहादुर थापा, नरबहादुर पुन, उपेन्द्रबहादुर शाह, अमर पुन र माइला भन्नेले गौतमको शवललाई उठाएर देवदह-९ को मिलन सामुदायिक वनको झाडीमा खाडल खनेर गाडेका प्रहरीले जनाएको छ ।

परिवारले गएको ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरमा निवेदन दिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा गाउँका तीन जना युवालाई सोधखोज गर्दा घटनाका विवरण बताएपछि घटना बाहिर आएको हो । प्रहरीले मंगलवार राति ११ बजे शव गाडेको स्थलमा ती युवाहरूको सहयोगमा नै पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले पाँच जना युवा प्रहरीको नियन्त्रणमा रहेको बताए । उनीहरूले ३ फिट गहिरो खाडल खनेर गौतमको शवलाई गाडेका फेला परेको थियो ।इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले घटना सुनियोजित नभए पनि युवाहरूले घटना लुकाउन खोजकोले उनीहरूलाई फौजदारी संहिता अनुसार कारवाही हुने बताए ।गौतम सोही बनको हेरालु समेत रहेका थिए । गौतमका एक छोरी र श्रीमती छन् ।