बेनी सामुदायिकमा भर्ना पाउनै मुस्किल

जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कमी हुदाँ मर्ज वा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालय समेत भेटिन्छन् । तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयमा हरेक बर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ ।

सहर–बजारमा प्रतिष्ठित नीजि विद्यालयदेखि ग्रामिण क्षेत्रबाट आफ्नो छोराछोरीलाई भर्नाका लागि आवेदन फारममा विद्यार्थीले बायोडाटा सहितको विवरण बुझाएर सोमबार प्रवेश परिक्षामा सहभागी भएका थिए । कक्षा कोठामा परिक्षा दिइरहेका विद्यार्थीका अभिभावक बार्षिक परिक्षाजस्तै खचाखच थियो । विभिन्न कोचिङ कक्षामा सहभागी भएर आएका विद्यार्थीको तयारी समेत बार्षिक परिक्षा भन्दा कम थिएन्।

भौतिक संरचना र मानवीय जनशक्तीको अभावले १ देखी ९ कक्षासम्म क्षमता अनुसार १ सय ६५ विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा २ सय ३१ जना विद्यार्थीमध्ये ८१ जनाले नाम निकाल्न सफल भए । ‘अधिकांस नीजि विद्यालयबाटै आउँछन्,‘छनौट भएपछि अभिभावकले बधाई साटासाट गर्छन’प्रधानध्यापक दिपक श्रेष्ठले भने। भौतिक संरचना, शिक्षक दरबन्दीको अभाव लगाएतका कारण आवेदन दिएका सम्पूर्ण विद्यार्थीलाई भर्ना गर्न असर्मथ रहेको बताए ।

विगत पाँचबर्षदेखि विद्यालयले प्रवेश परीक्षा लिने गरिएकोमा हरेक बर्ष १ सयको हाराहारीमा भर्ना गर्ने गरिन्छ । विद्यालयले अपाङ्ग, विपन्न परिवार,द्धन्द्धपीडितलाई कोटा समेत छुट्टाएको छ । जिल्लामा निजी विद्यालयसंग प्रतिस्पर्धा गरिरहेको विद्यालयमा निजी विद्यालयका शिक्षकले समेत आफ्ना छोराछोरी तथा आफन्तलाई सिफारिस सहित विद्यालयमा पुगेका थिए।

‘निजीमा विद्यार्थी खोसाखोज हुन्छ,‘यहाँ भर्ना हुनै मुस्किल छ’ याम केसीले भने । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको उनको भनाई छ । ‘छोराछोरीले लोकसेवा आयोगमा सहभागि भएजस्तै लाग्यो,‘धेरै विद्यार्थीमा यो प्रतिस्पर्धा गर्नु गुणस्तरीय शिक्षाका लागि राम्रो अभ्यास हो’ रघुगंगा गाउँपालिका–२ भगवतीकी विश्व कटुवालले बताईन् ।

अभिभावकले समेत धेरै विद्यार्थीमा छनोट भएर भर्ना गर्दा गर्व महसुस गरेका छन् । प्रवेश परिक्षामा नाम नस्किएपछि विद्यालय बाहिर अभिभावकले खुसी साटासाट गरेका थिए । जिल्लाका सबै स्थानीय तह र छिमेकी पर्वत जिल्लाबाट समेत निजी तथा सामुदायिकका विद्यार्थी भर्नाका लागि आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

उनका अनुसार जिल्लामा नतिजा, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, अनुभवी शिक्षक,डिजिटल कक्षा, अभिभावककै उपस्थितीमा उत्तरपुस्तिका निरिक्षण लगाएत गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सबै मापदण्ड रहेकाले पनि अभिभावको रोजाईमा परेको बताए। अभिभावकमैत्री वातावरण भएकाले पनि शैक्षिक गुणस्तर बढाउन सहज भएको बताए।

विद्यार्थीको निगरानीमा सिसी क्यामेरा जडान सहित आधारभुत तह देखी माविसम्म कक्षागत अभिभावक निगरानी समिति बनाएपछि दैनिक छोराछोरीको कमीकमजोरी, शैक्षिक गतिविधि लगाएतका बारेमा बुझ्ने ब्यवस्था गरिएको बताए।
कक्षागत अभिभावक अनुगमन समितिको संयोजकमा अभिभावको तर्फबाट आलोपालो सहित शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्ययोजना बनाउने गरिएको बताउँदै भौतिक पूर्वाधार र जनशक्ती भए २ हजार विद्यार्थीलाई भर्ना लिन सकिने बताए ।

नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरबाट डेढसय भन्दा धेरै सामुदायिक विद्यालयले भ्रमण गरेका छन् । शिक्षकहरुके लगाव र अभिभावकको जिम्मेबारी,ब्यवस्थापन समितिको अनावश्यक हस्तक्षेप नहुनुले पनि विद्यालयले हरेक बर्ष माध्यामिक तहको परिक्षामा सतप्रतिशत उत्र्तिणा लगाएतका कारणले समेत जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएको छ ।