भरोत्तोलनमा तारादेवीले बनाईन तीन कीर्तिमान

भारोत्तोलनकी रेकर्डधारी महिला खेलाडी तारादेवी पुनले तीनवटा रेकर्डसँगै स्वर्ण पदक जितेकी छन् । नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तान स्थायी घरभई हाल नेपाल प्रहरीमा कार्यरत पुनले स्न्याच ७४ केजी, क्लिन एण्ड जर्क ९७ र कुल तौल १७१ गरी तीन विधामा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । घुँडामा चोटग्रस्त पुनले पदक जित्ने प्रयास सफल भएको बेनीअनलाइनलाई बताईन् ।

‘मेहनत अनुसार नै सफल भएको छु,‘उत्कृष्ट प्रर्दशनलाई आगामी दिनमा निरन्तरता दिन्छु’ पुनले भनिन् ।उनले आफ्नो जीतमा निरन्तर मेहनत नै प्रमुख कारण भएको बताईन् ।सन् २००१ मा उनले स्वर्ण पदक जितेपछि कहिल्यै पनि पछाडि फर्कनुपरेको छैन ।

नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा समेत पाएकी पुनले हरेक प्रतियोगितामा पदक विहिन हुनुपरेको छैन्  १२ औ दक्षिण एशियाली खेलकुदमा ७५ किलो माथिको तौल समुहमा कास्य पदक जितेपछि पुनको चर्चा चुलिएको थियो । नेपाल प्रहरीमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुने गरेकी पुनले उपाधीलाई उर्जाको रुपमा लिने गरेकी छन् ।