म्याग्दीकी यूनिकाले राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितिन्

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुल कन्टाकट कराँतेमा म्याग्दीकी यूनिका शेरचनले ५० केजी मुनीको तौल  समुहमा स्वर्णपदक जितेकी छन् । प्रदेश नं ५ दाङमा आयोजित प्रतियोगितामा शेरचनले गण्डकी प्रदेशका लागि स्वर्णपदक जितेकी हुन् ।खेलमा अब्बल शेरचनलाई गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बेनीअनलाइनलाई बताए ।

‘राष्ट्रिय खेलमा सहभागी खेलाडी मध्ये पहिलो स्वर्णपदक हात परेको छ,‘प्रतियोगितामा अझै पदकको आश गरिएको छ’ विश्वकर्माले भने । उनका अनुसार म्याग्दीबाट गण्डकी प्रदेश अन्तरगत भलिबल, कराँते, टेक्वान्डो, ब्याडमिन्टन लगाएतका खेलमा ३८ जना प्रतिस्पर्धामा छन् । म्याग्दीबाट सहभागी भएका खेलाडीबाट अझैपनि पदकको आश गरिएको छ । पदक विजेता शेरचनले थप उर्जा मिलेको बताईन् । उनले प्रतिस्पर्धामा प्रदेशबाट सहभागी भएर स्वर्णपदक जित्नु ठूलो सफलता भएको बताईन् ।