चोट बाेकेरै भिड्दैछिन् तारादेवी

भारोत्तोलनकी रेकर्डधारी महिला खेलाडी तारादेवी पुन यतिबेला नयाँ कीर्तिमान राख्ने लक्ष्यसाथ नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी छन् ।भारोत्तोलनको प्रतिस्पर्धा नेपालगन्जको नगर भवनमा भएको छ । नेपाल प्रहरीकी पुन आइतबार महिला ७६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छिन् । तर, उनी यतिबेला चोटग्रस्त छिन् ।

‘म राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्थें तर इन्जोर छु । अहिले खेल्न सक्ने अवस्थामा छु । राम्रो प्रदर्शन गर्ने आशा छ,’ उनले भनिन्, ‘म नेपालमा हुने १३औं दक्षिण एसिया खेलकुदमा ऐतिहासिक सफलता हात पारेर मात्र सन्न्यास लिने योजनामा छु ।’सन् २००१ मा उनले स्वर्ण पदक जितेपछि कहिल्यै पनि पछाडि फर्कनुपरेको छैन ।

उनले केही वर्षदेखि लगातार हुने स्ट्रोंगेस्ट वुमनको उपाधि पाएकी छन् । मिहिनेती खेलाडीका रूपमा चिनिएकी तारादेवी चोटलाई परास्त गर्दै नयाँ कीर्तिमान बनाउने योजनामा छिन् ।इन्टरनेसनल भारोत्तोलन फेडेरेसनले नयाँ तौल समूहअनुसार प्रतियोगिता गर्न परिपत्र गरेसँगै आठौंमा पुरुष र महिलाको १०/१० तौल समूहमा प्रतिस्पर्धा हुँदै छ । shilapatra.com