पत्रकार गिरी पक्राउ परेको विरोधमा महासंघ म्याग्दीले ज्ञापनपत्र बुझायो

पोखराका पत्रकार अर्जुन गिरी पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । महार्संघका अध्यक्ष तारानाथ शर्माको नेतृत्वमा गएको पत्रकारको टोलीले समाचार लेखेकै भरमा पत्रकार गिरीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रा अभिव्यक्ती विरुद्ध भएको भन्दै गिरीलाई तत्काल रिहा गर्न माग गदैं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सोही अवसरमा प्रजिअ अधिकारीले ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पठाउने बताए । घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथिको हनन् भएको महासंघ अध्यक्ष शर्माको भनाई छ । पत्रकारलाई स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

बतास कम्पनीका विपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको भन्ने निवेदन प्रहरीकोमा परेपछि पत्रकार गिरिले त्यसैलाई आधार बनाएर समाचार लेखेकै कारण उनलाई केन्द्रिय अनुसन्धान ब्युरोको निर्देशनमा कास्की प्रहरीले बैशाख २ गते पक्राउ गरेको थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सन्तोष गौतम लगाएतको उपस्थिती रहेको थियो ।