बैंसरीमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध

बेनी –जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा सुख्खा पहिरो खस्दा यातायातका साधन अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका वडा नं २ भगवती आसपासका क्षेत्रबाट लगातार खसेको ढुंगाले सडकखण्डमा यात्रा गरिरहेका यात्रु र सवारीसाधनलाई आवतजावतमा समस्या भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

‘सडकमाथिको भागबाट पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको छ,‘केहीबेरमै नियमित सञ्चालनमा आउनेछ’ शेरचनले बेनीअनलाइनलाई भने । उनका अनुसार सडकखण्डमा बर्षासँगै माथिल्लो भागबाट ढुंगा खस्न थालेपछि पैदल, मोटरसाईकल र अन्य सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई समस्या भएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डमा विष्फोटक पदार्थको प्रयोग गरी सडक स्तरउन्नतीको काम भइरहेकाले पनि यात्रुलाई आवतजावतमा निकै समस्या हुने गरेको बताए ।

सडकखण्ड अन्तरगत गलेश्वर नजिकबाट मुस्ताङको घाँसासम्म यसबर्ष विगतमा भन्दा जोखिम भएकाले सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ । ०७२ जेठ १० गते अन्नपूर्ण गाउँपालिकाको राम्चे काफलडाँडाबाट खसेको सुख्खा पहिरोले राम्चे र भगवतीको बसैरीका २७ घरधुरी पुर्ण रुपमा विस्थापित भएका थिए । पहिरोले १६ घण्टा कालिगण्डकी नदी थुनिएको थियो ।