पब्जी खेलमा प्रतिबन्ध लगायो, सबै इन्टरनेट प्रदायक संस्थालाई तत्काल बन्द गर्न निर्देशन

सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए । पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

म्याग्दीमा समेत स्कुले बालबालिका पब्जी खेलका कारण नियमित विद्यालय नजाने, घरमा समेत विभिन्न बाहना बनाएर खेल्ने गरेका थिए । सामुदायिक तथा नीजि विद्यालयमा समेत गुनासो गर्ने गरेका थिए । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएपछि अभिभावक समेत उत्साहित भएका छन् । विद्यार्थीको पढाईसँगै अन्य दैनिकीमा समेत यो खेलले प्रभावित गरेको थियो ।