निर्धारित समय अगाडी नै सकियो गलेश्वर-काउलेगौँडा सडक मर्मत,डोजर चालक सहित मजदुर सम्मानित

म्याग्दीको एक सडक निर्माण उपभोक्ता समितिले योजना सम्पन्न गराउने समय सीमाभन्दा अगाडी नै गुणस्तरीय काम सम्पन्न गर्ने मजदुरलाई सम्मान कदरपत्रले सम्मान गरेको छ । बेनी नगरपालिका वडा नं ९ मा गलेश्वर–काउलेगौँडा–पात्लेखेत सडकखण्डका मजदुरलाई सोमबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

ट्याक मात्रै खोलिएको सडकको घुम्तीमा साँघुरो, भिरालो जमिनले निजी तथा भाडाका सवारीसाधनमा आवतजावतमा सकस भइरहेको अवस्थामा बेनी नगरपालिकाको १९ लाख ३० हजार र स्थानीय जनश्रमदान ३ लाख ६४ हजार ३३७ रुपैयाँ लागतमा स्तरउन्नती गरिएको थियो ।  सडकमा मापदण्ड अनुसार काम गरेको भन्दै गलेश्वर–काउलेगौँडा–पात्लेखेत सडक निर्माण उपभोक्ता समितिले डोजर चालक सहित २५ जना मजदुरलाई सम्मान गरेको उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उनका अनुसार सडकमा बेल्चा,गैचीमा रमाउने मजदुरलाई सम्मान गर्ने नयाँ संस्कारको सुरुवात गरिएको बताए ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य अम्मर बस्नेतले यूवाको नेतृत्वमा निर्धारित समयअवधि अगाडी नै सडक मर्मतको काम सम्पन्न हुनु ठुलो सन्देश भएको बताए । उनले सडक विस्तारको क्रममा स्थानीयबासीको समस्यालाई समेत मध्यनजर गरी भत्किएको शौचालय बनाइदिएर थप उत्कृष्ट काम गरेको बताए । सम्मान कार्यक्रममा केवाईसी यूवा क्लवका अध्यक्ष चिरञ्जीवि सुबेदी, समाजसेवी रुद्ध रेग्मी, अनुगमन समितिका अध्यक्ष पिपल पुरीले समयमै काम सम्पन्न गरेर नगरपालिकाका अन्य सडक आयोजनालाई समेत सन्देश प्रवाह गरेको बताएका थिए ।

गत माघ १२ गते सम्झौता भएर सडक स्तरउन्नतीको काम आगामी २०७६ साल बैशाख ३० गते सम्पन्न हुनुपर्नेमा उपभोक्ता समितिले नगरपालिका मेयर हरिकुमार श्रेष्ठ सहितको टोलीको स्थलगत अनुगमन तथा प्राविधिक पक्षबाट मापदण्ड चेकजाँच गरेपछि निर्माण सम्पन्न गरेको थियो । सडक फराकिलो बनाउने, घुम्ती सुधार, ग्रेड मिलाउन, ढलान गरी सहज आवतजावत गर्न सहज भएको छ । सडकबाट काउलेगौँडा हुदै बेनपा १० पात्लेखेत जाने सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् ।