ताकमकोतमा पर्यटन प्रर्वद्धन कार्यक्रम

म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत शनिबार उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिका ७ ताकमकोतमा पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गरेको छ । जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको ताकमकोतमा कार्यक्रम गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा ताकमकोत पुगेका संघका पदाधीकारी तथा सदस्यहरुले ताकमकोत जगन्नाथ मन्दिर पुननिर्माण समितिका पदाधीकारीहरुसँग ताकमकोतको महत्व, अवस्था, सम्भावना र योजनाको विषयमा छलफल गरेका थिए ।

ताकमकोत जगन्नाथ मन्दिर पुननिर्माण समितिका अध्यक्ष तेजिन्द्रबहादुर थापा र पुजारी हेमराज पौडेलले कोतको इतिहाँस, वर्तमान अवस्था, धार्मिक, पर्यटकीय सम्भावना र आगामी योजनाको बारेमा जानकारी गराउनुभएको थियो । नेपाल एकिकरणपूर्व तत्कालिन थापा राजाले राज्य सञ्चालन केन्द्र बनाएको ताकमकोत र त्यहाँ रहेको जगन्नाथ मन्दिरको समुदायको पहलमा पुननिर्माण सुरु गरिएको छ ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको ताकमकोतबाट धवलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमाल, सुर्योेदय, ग्रामिण बस्तीहरुको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । सो अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा ताकमकोत जगन्नाथ मन्दिर पुननिर्माणका लागि २५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।