तराईका हावाहुरी पीडितलाई सहकारीको सहयोग

आइतबार तराईको बारा र पर्सा जिल्लामा एक्कासी आएको हावाहुरी र बतासबाट पीडित बनेकाहरुलाई आर्थिक सहयोग भएको छ । बुधबार ६२औं राष्ट्रिय सहकारी दिवस–२०७५ को अवसरमा म्याग्दीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठीदान अभियानमार्फत नगद ३३ हजार तीनसय ३३ रुपैयाँ सहयोग गरेको हो ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित जिल्ला सहकारी संघले आयोजना गरेको सहकारी विशेष कार्यक्रमको अवसर पारेर सहकारीका अध्यक्ष ज्योती लामिछानेले पीडितहरुलाई राहत रकम पु¥याउने गरी उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । उनले महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापामार्फत जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई राहत रकमको नगद चेक हस्तान्तरण गरेकी थिइन् ।

हावाहुरी पीडितहरुको घाउमा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले राहत रकम सहयोग गरिएको उनले बताएकी छिन् । यसैगरी दिदीबहिनी सहकारीले श्रीमान्को कुटाइबाट सख्त घाइते भएकी पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङकी डिलमाया सुनारलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँको चेक पनि सहयोग गरेको छ । उक्त रकमको चेक पनि महिला मन्त्री थापाले सहकारीका सल्लाहकार पुष्पा पुनमार्फत पीडितलाई पु¥याउने गरी हस्तान्तरण गरेकी थिइन् ।

त्यस्तै कार्यक्रमको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अक्षयकोषका लागि नगद १० हजार र संघका अध्यक्ष प्रेमबहादुर कार्कीका छोरा प्रचलन कार्कीको जन्मदिनको अवसरमा प्रेमबहादुर कार्कीले नगद १० हजार रुपैयाँ महासंघका अध्यक्ष तारानाथ शर्माले सहयोग हस्तान्तरण गरेका छन् ।