व्यवसायिक उत्पादनमा सहकारीले लगानी गनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले सहकारीमार्फत व्यावसायिक उत्पादनमा लाग्न आग्रह गरेकी छिन् । बुधबार ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले सहकारीकर्मीहरुलाई उत्पादनमूलक क्षेत्रमा जोडिन आग्रह गरेकी हुन् ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित आयोजित सहकारी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले गाउँगाउँमा सहकारीको माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने बताइन् । उनले सहकारीमार्फत समुदायस्तरमा रहेको स्रोतसाधनको उचित परिचालन गरेर उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै रोजगारको विकास गरी विदेशिने युवालाई रोक्नुपर्ने बताइन् ।

मन्त्री थापाले देशको विकास र आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले लिएको ‘सुखी नेपाली र समृद्ध देश’ निर्माणको लक्ष्य पुरा गर्न सहकारी क्षेत्रलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएकी छिन् । उनले सहकारीबाट व्यावसायिक रुपमा कुखुरापालन, पशुपालन, तरकारी खेती, उद्योग तथा व्यापार, व्यवसाय गर्न सकिने बताउँदै सहकारीले पर्यटन प्रवद्र्धन गर्नका लागि ग्रामीण भेगमा होमस्टे सञ्चालन जस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताइन् ।

कृषि उत्पादकत्व बढाउन सामूहिक रुपमा खेती प्रणालीको अवधारणालाई अगाडि सानुपर्ने बताउँदै कृषिको क्षेत्रमा आधुनिकीकरणको माध्यमबाट उर्वरभूमीको प्रयोग गरी उत्पादनमा वृद्धि गर्नुपर्ने मन्त्री थापाले बताइन् । उनले किसानहरुलाई लक्षित गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको भन्दै न्युन आय भएका विपन्न वर्गलाई अनुदानको व्यवस्था समेत रहेको जानकारी दिएकी छिन् ।

महिलाहरुको आयआर्जन बढाउन सहकारीमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताउँदै सरकारले आर्थिक रुपमा पछाडि परेका महिलाहरुको उत्थान गर्न देशका ३२ जिल्लामा ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम सञ्चालन भैरहेको मन्त्री थापाले बताइन् ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले सहकारीमार्फत विदेश जानेले तुरुन्तै ऋण पाउने तर स्वदेशमै व्यवसायिक उद्यम गर्न चाहने युवाले ऋण नपाउने अवस्थाको अन्त्य गरिने बताए ।

उनले प्रदेश सरकारमार्फत सहकारीको दीगो विकासमा जोड दिइएको भन्दै अब एउटा सहकारीले कम्तीमा पनि एउटा व्यवसायिक उद्यम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सहकारीले उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला संयन्त्र सदस्य टेकबहादुर विश्वकर्मा, नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व जिल्लाका सहकारी संघसंस्थामा आबद्ध सहकारीकर्मीहरुले बेनीबजारमा झाँकी, प्लेकार्ड र नारा गुनगुनाउँदै प्रभातफेरी गरेका थिए । सहकारी दिवसमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने दिदीबहिनी, सङ्गिनी, साहारा बचत तथा ऋण सहकारी संस्था, नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी र मुक्तिनाथ बहुउद्देश्यीय सहकारीलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।