अन्तराष्ट्रिय पदक विजेता केसी सम्मानित

कराँते खेलमा अन्तराष्ट्रिय स्वर्ण पदक विजेता रघुगंगा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रीज क्याकोसिन कराँते प्रतियोगितामा नेपालको तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले नगद २५ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका छन् ।

बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा सम्मान गदैं मन्त्री पुनले खेलकुदको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पदक विजेता सहित ब्यवसायीक खेलाडीलाई मन्त्रालयले प्रोत्साहन सहितको कार्यक्रम सञ्चालन गर्ने बताईन् ।सम्मान कार्यक्रममा प्रदेश सांसद विनोद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगाएत विभिन्न संघसंस्थका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सम्मानित खेलाडी केसीले उपाधीपछि दर्जनौ सम्मानले उत्साहित भएको बताए ।