हामीले दैनिक रुपमा खानामा प्रयोग गर्दै आएको अण्डा स्वास्थ्यका लाभदायक मानिन्छ तर खाने तरीका र परिमाण नमिल्दा भने त्यही अण्डा घातक बन्छ । अण्डाकाे उचित परिमाण नमिलेमा मुटुसम्बन्धी रोग लाग्ने र असामयिक मृत्यु हुने उच्च जोखिम देखिएको पछिल्ला अध्ययनहरुले पुष्टि गरेका छन् ।एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले दिनमा दुईवटा मात्रै अण्डा खाँदा पनि मुटुसम्बन्धी रोग लाग्ने र उमेर नपुग्दै मृत्यु हुने जोखिम रहेको देखाएको छ ।

३० हजार मान्छेहरुमा करिब १७ वर्षसम्म गरिएको साे अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तर यसअघिको एक छोटो अध्यनले अण्डा खानुकाे मुटुरोगसँग कुनै सम्बन्ध नरहेको देखाएको थियो । जसका कारण नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ । यद्यपि पहिलाको भन्दा नयाँ अध्ययन लामो रहेकोले र अनुसन्धानकर्ताहरुले केही त्रुटि भएको हुन सक्ने स्वीकारेका छन् ।

उक्त अध्ययनकी एक लेखिका तथा नर्थवेस्टर्न युनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनका अनुसार यदि दुईजना मानिस उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ ।

अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुन्छ । जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम ३०० मिलिग्राम कोलेस्ट्रोल खान हुने बताउँछ । तर ठूलो अण्डामा करिब १ सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जसका कारण दिनमा धेरै अण्डा खाँदा काेलेस्ट्राेलकाे मात्रा बढी हुने र सो जोखिम देखिने अध्ययनकाे निष्कर्ष छ ।

दिनको दुईवटा अण्डा खाँदा त्यसले मुटुसम्बन्धी रोग लाग्ने खतरा २७ प्रतिशत र असामयिक मृत्यु हुने खतरा ३४ प्रतिशतले बढाउने देखिएको छ । उक्त अध्ययनले नै हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा ६ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने रिपाेर्ट प्रस्तुत गरेकाे छ ।

कति अण्डा खानु उचित ?

अमेरिकाकाे नर्थवेस्टर्न यूनिभर्सिटीकी उप-प्राध्यापक एवं अध्ययनकर्ता एलेनका अनुसार हप्तामा तीनवटा भन्दा बढी अण्डा खानु सामान्य मानिसकाे स्वास्थ्यका लागि लाभदायक हुँदैन । तर लण्डनको किङ्ग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्याण्डर्सले भने याे तथ्यमा कुनै सत्यता नरहेकाे बताएका छन् ।

प्राध्यापक टम स्याण्डर्सका अनुसार धेरै अण्डा खपत हुनेमध्येकाे जापानमा प्रतिव्यक्तिले वर्षमा ३ सय २८ वटा अण्डा खान्छन् र पनि त्यँहा मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारणले ज्यान गुमाउछन् । यद्यपि धेरै अण्डा खपत हुने देशमा मेक्सिको (वार्षिक प्रतिव्यक्ति ३५२ अण्डा) र दाेस्राेमा मलेसिया (वार्षिक प्रतिव्यक्ति ३४२ अण्डा) रहेका छन् ।

अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टरन्याशनल एग कमिशनको सन् २०१५ को तथ्याङ्क अनुसार अमेरिका धेरै अण्डा खानेमध्ये साताैँ देशमा पर्छ, जहाँ प्रतिव्यक्तिले दैनिक करिब ६ सय मिलिग्रामसम्म काेलेस्ट्रोल खान्छन् । अर्थात् प्रत्येक वर्ष प्रतिव्यक्तिले २ सय ५२ अण्डा खान्छन् । तर त्यहाँ मृत्यु हुनेमा २० प्रतिशत मात्रै मुटु रोगका कारण मर्छन् ।

हप्तामा तीनदेखि चारवटा अण्डा खानु ठीकै रहने प्राध्यापक स्याण्डर्स बताउँछन् । यद्यपि अण्डामा हुने क्यालाेरी तथा काेलेस्ट्राेल पचाउन सक्ने क्षमता व्यक्तिकाे पाचन पाचन क्षमता, एक्सरसाइजलगायतका कुराले समेत फरक पार्न सक्ने उनकाे भनाइ छ ।

स्रोत : एजेन्सी