पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता भएकी छन्। गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बनेकी हुन्।  उनी काठमाडौँबाट घरमा जान भनी हिँडेपनि  हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आएकी छैनन्। फलेवास नगरपालिका–२ थापाठानास्थित खनार माइतीघर भई नौ वर्षअघि उनको सोही स्थानका प्रकाश थापासँग विवाह भएको थियो।

पर्वत प्रहरीलगायत घर र माइती पक्षले उनको खोजी कार्य गरे पनि आजसम्म कुनै पत्तो लाग्न सकेको छैन। शर्मिलाका माइती पक्षले भने घरपरिवारले बेपत्ता बनाएको आरोप लगाएका छन्। ‘‘घरमा बस्न नसकेको भन्दै १८ महीना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’’ शर्मिलाका बाबु मतिलाल कार्कीले छोरी शर्मिला र नातिनी सुप्रियालाई परिवारकै सदस्यले बेपत्ता बनाएको आरोप लगाए।

शर्मिलालाई थापाठानाकै एक निमावि विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा १६ वर्षकै उमेरमा प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका थिए। यता श्रीमान्ले भने श्रीमती माइत र घरमा जान्छु भनेपछि आफूले काठमाडौँबाट पर्वतको बसमा चढाएको तर कहाँ गइन् भन्नेबारेमा आफू पनि अन्योल रहेको बताए। शर्मिलाका बाबु मोतिलाल कार्कीले छोरी फागुन २ गते घरमा आउने भनेर बसमा चढेको थाहा नभएको तर फागुन ५ गते कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मी घरमा नै पुगेर छोरी हराएको जानकारी दिएपछि मात्रै आफूहरुलाई थाहा भएको बताए।